दाउन्ने पहिरो खसेपछि बुटवल नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।
प्रहरीका अनुसार दिउँसो पौने १ बजेतिर पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ पैसठ्ठी मोड नजिकै दाउन्ने खण्डमा पहिरो झरेको हो।
दिनभर परेको पानीका कारण चिप्लो बनेको सडकमाथि पहिरो झरेपछि आवतजावत बन्द भएको छ।
पूर्वी खण्डमा झरेको पहिरो हटाएर सडक खुलाउने प्रयास गरिए पनि पश्चिम खण्डमा पनि सडकमा माथिबाट लेदो झरेपछि सवारी साधन आवतजावत गर्न सकेका छैनन्।
बर्दघाट प्रहरीका अनुसार दाउन्ने बजारदेखि पश्चिमतर्फ खुर्साने खोला नजिकै उकालोमा माथिबाट झरेको लेदोमा गएरातिदेखि नै गाडी फसेका छन्।
अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त राजमार्ग प्रयोग गर्ने सबै सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।