काठमाडौंमा एक महिलामाथि खुकुरी प्रहार भएको छ।
गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा ५१ वर्षीय सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो।
बिहीबार साढे ११ बजेतिर सीतादेवीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
उनीमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ छन्।
'पक्राउ परेका तामाङ मदिरा सेवन गरेका रहेछन्,' बौद्ध वृत्तका एक प्रहरीले, 'महिलाले पनि केही बताएकी छैनन्। त्यसैले कारण खोज्दैछौं।'
खुकुरी प्रहारबाट घाइते भएकी महिलाको शंकरापुर अस्पताल नारायणटारमा उपचार भइरहेको छ।
तामाङलाई भने प्रहरी वृत्त बौद्धको भवन जलेकाले जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको स्रोतले जानकारी दिए।