जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड भएका संरचनाहरूको मानव अधिकारको टोलीले अनुगमन गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिनिधि टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो।
अनुगमन टोलीमा मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण सहनी लगायतका मानव अधिकारकर्मीहरू सहभागी छन्।
भदौ २७ गतेदेखि निरन्तर जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट भएका संरचनाहरूको अनुगमन गरिरहेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले जानकारी दिए।
भन्सार कार्याल जनकपुर, सशस्त्र प्रहरी चौकी रेल्वे स्टेसन, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, कर कार्यालय जनकपुर, कृषि तथा सहकारी मन्त्रालय र मधेस प्रदेश सभामा अनुगमन गरिसकेको उनले बताए।
भन्सार कार्यालय जनकपुरका कार्यालय प्रमुख मानबहादुर पौडेलले २४ भदौ दिउँसो ३ बजेतिर आएका प्रदर्शनकारीले कार्यालयमा आगजनी, तोडफोड र कार्यालयका समानहरु लुटेर लगेको जानकारी गराएका छन्।
तीन ओटा ट्रक, तीन ओटा नयाँ कार लगायत चार पाङ्ग्रे २० ओटा गाडी, ३ सय मोटरसाइकल, १२ सेट कम्प्युटर र २० ओटा अटो रिक्सा सहित कार्यालयको सबै सामग्री जलेर नष्ट भएको उनले बताए।
भन्सार सुरक्षार्थ राखिएको सशस्त्र प्रहरी बलको कार्यालयमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।
प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीको दुई ओटा जिप र चार ओटा मोटरसाइकल जलाएका छन्। सशस्त्र प्रहरी सहायक हवल्दार सुजित कुमार यादवका अनुसार एक्कासि ठूलो संख्यामा प्रदर्शनकारी आएर कार्यालयमा आगजनी र तोडफोड गर्न थालेपछि रोक्न नसकेको बताए।
जिल्ला प्रशासन कार्यालय धनुषामा समेत आगजनी तथा तोडफोड भएको छ।
जिल्ला प्रशासन कार्यालयका खरिदार अनिल कुमार मण्डलले राष्ट्रिय परिचय पत्र शाखा र पासपोर्ट शाखामा आगजनी तथा तोडफोड भएको जानकारी दिए। जसका कारण कम्प्युटर र झ्यालका सिसा तथा कागजातमा क्षति पुगेको छ।
कर कार्यालय, जनकपुरमा २४ भदौ गते साँझ ६ बजे प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सुरू गरेका थिए। कार्यालय बाहिर राखिएका ज १ झ ३७६ नम्बरको पिकप भ्यान, ज १ झ ४०५ नम्बरको स्कारपियो, पाँच ओटा बाइक जलाउनुका साथै उनीहरूले राजश्व सङ्कलन र फाइल भण्डार शाखामा आगजनी गरेका थिए।
प्रदर्शनकारीहरुको आगजनी र तोडफोडका कारण मधेस प्रदेश सभामा क्षति पुगेको छ। प्रदेश सभामा रहेको सबै सामग्री जलेर नष्ट भएको मानव अधिकारकर्मीहरूले बताएका छन्। जनकपुरको मुरलीचोकमा रहेको कृषि तथा सहकारी मन्त्रालयमा समेत प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिकामा भएको आगजनी र तोडफोडका कारण कार्यालयमा रहेको सबै सामग्री जलेर नष्ट भएको छ।
दुई ओटा बारुण यन्त्र, एक ओटा एम्बुलेन्स, दुई ओटा ट्रक र एक ओटा भ्यान पनि जलाइएको छ। कार्यालयभित्र राखिएको २ सय सिलिण्डर ग्यास पड्किएका कारण कार्यालय भवन क्षतविक्षत भएको अनुगमन टोलीले जनाएको छ।