अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्यू योर्क टाइम्सका विरूद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गरेका छन्।
दोस्रो कार्यकालमा अमेरिकाका प्रमुख सञ्चार गृह विरूद्ध कानुनी आक्रमण गरिरहेका ट्रम्पले टाइम्स, यसका चार पत्रकार र पुस्तक प्रकाशक पेन्गुइन र्यान्डम हाउसलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको भनेर ट्रम्पको रिपब्लिकन पार्टी निकट मानिने द वाल स्ट्रिट जर्नलले लेखेको छ।
सो मुद्दामा टाइम्सलाई गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको र ट्रम्पबारे झुटा तथा मानहानिपूर्ण सामग्री फैलाएको आरोप लगाइएको छ।
ट्रम्पले उनको सामाजिक सञ्जाल ट्रुथ सोसियलमा सोमबार अबेर राति एक पोस्ट गर्दै सो मुद्दाको घोषणा गरेका हुन्। सो पोस्टमा उनले टाइम्सलाई उग्र वामपन्थी र विपक्षी डेमोक्रयाटिक पार्टीको लगभग मुखपत्र भएको आरोप लगाएका छन्।
सोमबार फ्लोरिडामा दायर गरिएको ८५ पृष्ठको मुद्दामा ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई टाइम्सले दिएको समर्थनलाई औंल्याएको छ।
त्यस्तै, सो पत्रिकाका पत्रकारहरूले लेखेको र पेन्गुइन र्यान्डम हाउसले प्रकाशित गरेको 'लकी लुजर: हाउ डोनाल्ड ट्रम्प स्क्वान्डर्ड हिज फादर्स फर्च्युन एन्ड क्रिएटेड द इलुजन अफ सक्सेस' नामक पुस्तकलाई पनि सो मुद्दामा उल्लेख गरिएको छ। त्यसमा टाइम्सका धेरै लेखहरू पनि उद्धृत गरिएको जर्नलले जनाएको छ।
ट्रुथ सोसियलको पोस्टमा ट्रम्पले विगत एक वर्षमा आफ्नो उजुरी पछि एबीसी न्यूज र प्यारामाउन्ट ग्लोबलले उनलाई पैसा तिरेर मुद्दा मिलाउन गरेको सम्झौताहरूको पनि उल्लेख गरेका छन्।
ट्रम्पले मिडिया मालिकका अरू व्यापारमाथि पनि प्रहार गर्ने डरले एबीसी न्यूजको माउ कम्पनी डिज्नीले उनलाई एक करोड ५० लाख डलर र र प्यारामाउन्ट ग्लोबलले एक करोड ६० लाख डलर तिरेर मुद्दा मिलाएका थिए।
ट्रम्पले यसअघि पनि टाइम्स विरूद्ध मुद्दा दायर गरेका थिए। सन् २०२१ ट्रम्पको व्यापारबारे टाइम्सले गरेको अनुसन्धानलाई लिएर उनकी भतिजी मेरी एल ट्रम्प, टाइम्स र त्यसका तीन पत्रकार विरूद्ध पनि मुद्दा दायर गरेका थिए।
सन् २०२३ मा न्यू योर्कका एक न्यायाधीशले उक्त अनुसन्धानलाई संविधानको प्रथम संशोधनले संरक्षण गरेको भन्दै सो मुद्दा खारेज गरिदिएका थिए।
पछिल्लो मुद्दाबारे टाइम्सले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)