जेनजीहरूले सुरू गरेको आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका आठ जना कैदी रूपन्देहीमा पक्राउ परेका छन्।
यसअघि चितवन कारागारबाट फरार भएका तीन जना कैदीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले शनिबारसम्म थप पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका ज्यान मुद्दाका कैदी बागलुङको पाण्डव खानी गाउँपालिका वडा नं. ९ बस्ने ३७ वर्षीय नवीन बहादुर पुन, लागुऔषध कोकिन मुद्दाका कैदी तान्जानिया नागरिक वर्ष ५३ को रामा धानी सिम्बा म्वाबुम्बा, ४७ वर्षीय त्वालिब किपेभु पशुवा, नवलपरासी कारागारबाट फरार रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ बस्ने बहुविवाह मुद्दाकी ५२ वर्षीय करिस्मा राना र सवारी ज्यान मुद्दामा चितवन कारागारमा रहेका भारत उत्तर प्रदेश थाना बाह्रवंकी बस्ने ३८ वर्षीय मोनु कश्याब रहेका छन्।
प्रहरीले यसअघि सवारी अङ्गभङ्ग मुद्दामा चितवन कारागारमा रहेका भारत हरियाना प्रदेश थाना नागिना बस्ने २४ वर्षीय अब्बास खान, भारत उत्तर प्रदेश थाना बेहोजोई बस्ने ४८ वर्षीय अनिल गिरी र भारत उत्तर प्रदेश थाना केलादेवी बस्ने ४१ वर्षीय राजपाल सिंहलाई पक्राउ गरेको थियो। गिरी र पाल लागुऔषध मुद्दामा चितवन कारागारमा रहेका थिए।