मधेस प्रदेशको महोत्तरी र सप्तरीमा कर्फ्यू तथा निषेधाज्ञा हटाइएको छ। पछिल्लो सुरक्षा परिस्थितिको विश्वलेषणका आधारमा कर्फ्यू तथा निषेधाज्ञा हटाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। कर्फ्यू तथा निषेधाज्ञा हटेपछि जनजीवन समान्य बन्दै गएको छ।
बिहान ११ बजेबाट लागू हुने गरी कर्फ्यू तथा निषेधाज्ञा फिर्ता गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालद्वारा जारी गरिएको आदेशमा उल्लेख छ। २७ भदौमा महोत्तरीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यू तथा निषेधाज्ञा आदेश जारी गरिएको थियो।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले सूचना जारी गर्दै कर्फ्यू तथा निषेधाज्ञा हटाएको जानकारी दिएका हुन्। जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार बिहान १० बजेदेखि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको सूचनामा उल्लेख छ।
बारामा कर्फ्यू तथा निषेधाज्ञा जारी
बारामा कर्फ्यू तथा निषेधाज्ञा कायमै राखिएको छ। शनिबार प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको आदेशमा बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ।
साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने व्यवस्था मिलाएको प्रशासनले जनाएको छ।
सिराहा र धनुषामा भोलिदेखि सरकारी कार्यालय खुला
कर्फ्यू तथा निषेधाज्ञा हटाउँदै लगेका प्रशासनले सरकारी कार्यालयको सेवा प्रवाह सञ्चालन गर्ने तयारी थालेका छन्। कतिपय जिल्ला प्रशासनले शुक्रबार नै सूचना जारी गरेर भोलि आइतबारदेखि सेवा सुरू गर्न भनिसकेका छन् भने कतिपयले आज शनिबार सूचना निकालेर भोलिदेखि सेवा सुरू गर्न निर्देशन दिएका छन्।
राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू भने सुरू गर्न नसकिने प्रशासन कार्यालयहरूको सूचनामा उल्लेख छ। राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाका लागि केन्द्रीय सर्भर प्रणाली सञ्चालन हुनुपर्ने हुन्छ। जेनजी पुस्ताको आन्दोलनको क्रममा सिंहदरबारमा समेत आगजनी भएकोले सर्भरमा समस्या छ।
सिराहामा २९ भदौ आइतबारदेखि सेवा प्रवाह सुरू गरिने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा सेवा सुरू गर्न भनिएको हो।
कार्यालय प्रमुखलाई आआफ्नो कार्यालयमा सम्पूर्ण कर्मचारीसहित अनिवार्य उपस्थित भई सेवा प्रवाह गर्न भनिएको छ। सूचनामा कार्यालयहरूको सेवा प्रवाहलाई यथासम्भव सञ्चालन गर्न तथा एक कार्यालयले अर्को कार्यालयको कार्य सञ्चालनमा सहयोग पुर्याउन समेत आग्रह गरिएको छ।
जिल्ला भित्रको समग्र कार्य प्रणाली र सेवा प्रवाहलाई सेवाग्राही मैत्री पूर्ण तरिकाले सम्पादन गर्न सबै कार्यालय प्रमुखहरूले अहोरात्र, इमानदार एवं प्रभावकारी ढंगले कार्य गर्न आवश्यक छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले २७ भदौ शुक्रबार सूचना जारी गरेर आइतबारदेखि सेवा प्रवाह गर्ने जानकारी दिएको छ। शान्ति सुरक्षा, विपद व्यवस्थापन र मुद्दा सम्बन्धी सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने सूचनामा उल्लेख छ।