रूपन्देहीमा शुक्रबार दिनभर हटाइएको निषेधाज्ञा र कर्फ्यू रातिदेखि फेरि जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले रातिको समयमा हुनसक्ने प्रदर्शन, जुलुस, झडपजस्ता सम्भावित घटनालाई मध्यनजर गर्दै शुक्रबार राति १० बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू र निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको सूचना अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू र ६ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा जारी गरेको हो।
शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क आदेश अनुसार निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
कर्फ्यू अवधिमा कसैलाई आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना जस्ता गतिविधि गर्न निषेध गरिएको छ।
त्यस्तै, निषेधाज्ञा जारी गरिएको अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धर्ना, धार्मिक तथा अन्य कोणसभामूलक कार्यक्रम गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यालयले आदेश उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।