सिराहामा ध्वनी प्रदुषण नगर्न प्रमुख जिल्ला अधिकारीले आदेश गरेका छन् । २७ भदौ शुक्रबार आदेश जारी गर्दै प्रजिअ बसन्त अधिकारीले ध्वनी प्रदुषण नगर्न भनेका हुन्।
सिराहा जिल्लामा धार्मिक, सामाजिक, राजनीतिक लगायतका विभिन्न कार्यक्रमहरूमा डिजे साउण्ड सिस्टम प्रयोग गरी चर्को आवाजमा गीत बजाउने गरिएको छ।
यस्ता कार्यबाट ध्वनी प्रदूषण भएको भनी सर्वसाधारणको व्यापक जनगुनासो आएको तथा अस्पताल, विद्यालय, कार्यालय लगायतका स्थानहरूमा ध्वनी प्रदूषणबाट समस्या भएको प्रशासनको ठहर छ।
स्थानीय मौलिक बाजागाजा, लोक संस्कृतिहरू समेत लोप हुन लागेकोले जिल्लाभर डिजे साउण्ड सिस्टम बजाउन, सवारी साधनमा राखी एक ठाउँबाट अर्को ठाउँमा ठूलो ध्वनीमा बजाउँदै लैजाने कार्यलाई निरूत्साहित गर्न आदेश जारी गरिएको प्रजिअको तर्क छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ (क) अनुसार त्यस्तो कार्यलाई रोक लगाइएको प्रशासनले जनाएको छ।
आदेशको बर्खिलाप ध्वनी प्रदूषणजन्य गतिविधि भएमा वा भए गरिएको पाइएमा डिजेका लागि प्रयोग हुने सामग्री जफत गर्ने तथा कानुन कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
मन्दिर, मस्जिद, चर्च, गुम्वाहरूमा गरिने नित्य पूजाको सन्दर्भमा पनि चर्को ध्वनीमा माइक बजा नबजाउन प्रशासनले अनुरोध गरेको छ।