हाल देशभरि मनसुनको प्रभाव छ।
मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।
बिहीबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ।
मोरङको लेटाङमा पछिल्लो एक घन्टामै २१.८ मिलिमिटर वर्षा भएको छ। रौतहटको चन्द्रपुरमा २३.४, नुवाकोटको ककनीमा २०.६, सुर्खेतको पुष्म क्याम्पमा १६.६ मिलिमिटर वर्षा पछिल्लो एक घन्टामै भएको छ। अन्यत्र पनि विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेस प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बिहीबार राति देशभर साधारणतया बदली रहनेछ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको पहाड र तराई मधेश प्रदेश, गण्डकी प्रदेशको र लुम्बिनी प्रदेशका तराई भु-भागका एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।