मानिसहरू बाथले गर्दा धेरै किसिमका पीडा भोगिरहेका हुन्छन्। अनि बाथको कारणले मानिसहरू झुक्किएका पनि हुन्छन्। बाथको बिरामी कहाँ जाने, के गर्ने अलमलमा हुन्छन्। बाथ धेरै किसिमका हुन्छन्। हामीले यहाँ चर्चा गर्न लागेको जोर्नी बाथको हो।
जुन बाथको समस्या जोर्नीसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। त्यसलाई हामीले सामान्यत: जोर्नीको बाथ भन्ने गर्छौं। बाथले मुटु, दिमाग, आँखा लगायत शरीरका धेरै अंगमा हान्न सक्छ। तर जुन बाथ जोर्नीसँग रहेर जोर्नीलाई नै दुःख दिन्छ त्यसलाई जोर्नी बाथ भनिन्छ। मलाई बाथ छ, युरिक एसिड छ भन्ने गरिन्छ। तर अहिले के देखिन्छ भने कतिपयले घुँडा दुखे पनि युरिक एसिडको औषधि खाइरहेको पाइन्छ। उसलाई कुन खालको बाथ भएको हो अनि खिइएको भन्ने केही पत्तो हुँदैन। घुँडा दुख्यो, कम्मर दुख्यो, ढाड दुख्यो, औंला अरठ्ट भएपनि उसले युरिक एसिडको औषधि खाइहाल्छ।
जोर्नीका बाथ धेरै प्रकारका हुन्छन्। कुन चरणमा कुन बाथले पीडित छ भन्ने पत्ता लगाएर अगाडि बढ्यौं भने जोर्नीको बाथको वास्तविकतामा पुग्छौं। त्यही किसिमले सल्लाह, सुझाव, परामर्श र उपचार गर्न सक्छौं।
जोर्नीको बाथ भएको कसरी थाहा पाउने भन्ने धेरैलाई हुन्छ।
जब घुँडामा विभिन्न चोटपटकको कारणले धेरै घुँडा खुम्चिने गरेर खिइँदै गएपछि माथि र तलको हड्डीको भाग नजिकिएर रगटिन सुरू गर्छन्। जसले गर्दा पानी जम्ने र सुन्निने हुन्छ। अनि दुखाइ सुरू हुन्छ।
यसको रोग पत्ता लगाउन चिकित्सकको परामर्शमा परीक्षण गर्नुपर्छ।
उपचारको लागि पहिला जोर्नीमा कुन बाथ हो पत्ता लगाउन जरूरी छ। जोर्नी खिइएको हो कि खिइएर जोर्नीको अप्ठ्यारोपना हो कि, युरिक एसिडले हो भन्ने परीक्षण गरेर त्यही अनुसारको उपचार गर्नुपर्छ।
जोर्नी खिइन सुरू गरेपछि २४ सै घण्टा यसको दुखाइ हुन्छ। सबैभन्दा पहिला घुँडाको भित्री भागबाट दुख्न सुरू गर्छ। छाम्दाखेरी कतै भित्र घाउ नै छ कि भन्ने तरिकाले दुख्छ। चोटपटक लागेको छ भने हलचल नगराए केही समयपछि दुख्न छोड्छ। तर जब बाथ जोर्नी हुन्छ सुतेकै बेलामा पनि अरठ्ठ परेर दुख्न थाल्छ।
घुँडा खिइँदाखेरी घुँडामा मात्र समात्छ। हिँडडुल गर्न सकेन, टुक्रुक्क बस्न सकेन, बसेपछि सिधा पार्न सकिएन, भर्याङ तलमाथि गर्न सकिएन भने घुँडा सुन्निएर यसको आकार अलि ठूलो हुन्छ। खान बस्न सबै हुन्छ।
जोर्नीको बाथ हुँदा पनि यी सबै लक्षण देखिन्छन्। तर जोर्नीको बाथ हुँदा अझै धेरै समस्या देखिन्छ। बिहान उठ्दा हात अरठ्ठ हुने, माड्न पर्ने, खोल्न गाह्रो हुने हुन्छ। घाम झुल्किँदै गएपछि, घाममा तताएपछि,आगोमा सेकेपछि, तातोपानीले सेकेपछि बल्ल अलि खुलेजस्तो हुन्छ।
आकाश बादलियो, पानीमा भिजियो, चिसो पस्यो, थाइरोइड पनि बढेको अनि भिटामिन डीको मात्रा कम छ भने अझै समस्या पार्छ। त्यस्तो बेला बाथ अझै उग्र भएर थप पीडा दिन्छ।
बाथ पूरै निको हुँदैन। यसलाई नियन्त्रण गर्ने हो। सबभन्दा पहिला केही कुरा ध्यान दिनुपर्छ। अनि हामीले दिएको औषधि खाने, शुद्ध खानामा ध्यान दिने गरियो भने बाथलाई कमजोर बनाउन सकिन्छ। हामीले बाथको बाटो बदल्न सक्छौं, यसलाई लखेट्न सक्छौं।
बाथलाई नियन्त्रण गर्ने केही प्रमुख उपाय निम्न छन्:
-खानपिनमा नियन्त्रण गर्ने
-चिकित्सकले दिएको औषधि खाने
-शारीरिक व्यायाम गर्ने
-विशाक्त खानाबाट पर बस्ने
-जे जे खाँदा अप्ठ्यारो परेको छ त्यसलाई रोक्ने
-चिकित्सकको निगरानीमा नियमित औषधि खाने
(हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ सहप्राध्यापक डा.मनोज कँडेल भरतपुर अस्पतालमा कार्यरत छन्।)