वीरगञ्ज महानगरपालिकामा हैजाका बिरामी देखिने क्रम रोकिएको छैन।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४२ वटा नयाँ केस विभिन्न अस्पतालमा दर्ता भएका छन्।
योसँगै अस्पतालमा दर्ता भएका बिरामीको संख्या ५ सय ८३ पुगेको छ। जसमध्ये २ सय ६० जना उपचारपछि घर फर्किएका छन्। आरडिटी परीक्षण गर्दा १४१ जनाको दिसामा हैजाको जीवाणु भेटिएको थियो। कल्चरका लागि काठमाडौं र जनकपुर पठाइएको ३२ वटा नमूनामध्ये २० वटा पोजेटिभ आएको थियो।
नारायणी अस्पतालमा हैजा संक्रमितको निःशुल्क उपचार चलिरहेको छ। पछिल्ला दिनमा भर्ना भएका बिरामीको लक्षणमा ज्वरो पनि थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए।
‘सुरूका दिनमा भर्ना हुने बिरामीमा ज्वरो थिएन, अहिले पखालासँगै ज्वरो पनि आयो भनेर बिरामी आउन थालेका छन्,’ उनले भने, ‘मिक्स इन्फेक्सन भएको हुन सक्छ।’
ज्वरो हैजाको लक्षण होइन, हैजामा चौलानी पानी जस्तो पखाला निरन्तर लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ। जसले मानिसलाई छिटो निर्जलीकरण गर्ने हुँदा कमजोर बनाउँछ। हैजासँगै अन्य संक्रमण भएको कारणले ज्वरो आएको हुनसक्ने डा. सिंहको भनाइ छ।
चिकित्सकहरूका अनुसार हैजामा मिश्रित संक्रमण तब हुन्छ, जब भिब्रियो कोलेरासँगै आन्द्राजन्य अन्य रोगहरू जस्तै साल्मोनेला, शिगेला, इ.कोली वा क्याम्पिलोब्याक्टर एकैसाथ उपस्थित हुन्छ। यी सह–संक्रमणहरू खराब सरसफाइ र सुरक्षित पानीको पहुँचको अभाव भएका क्षेत्रहरूमा हुने सम्भावना बढी हुन्छ।
मिश्रित संक्रमणहरूको उपचार गर्न उपयुक्त एन्टिबायोटिक थेरापी निर्धारण गर्न सबै संक्रामकहरूको सावधानीपूर्वक पहिचान गर्नु आवश्यक हुन्छ। किनकि पछिल्लो समयमा एन्टिबायोटिक प्रतिरोध हुने गरेको देखिएको छ।
वीरगञ्जमा हैजा संक्रमणको स्रोत अझै पत्ता लाग्न सकेको छैन। वीरगञ्ज महानगरपालिकाले पानीको नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ।
वीरगञ्ज १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालाबाट पानीमा इ.कोली रहे नरहेको परीक्षण गरिएको हो।
ई. कोलीको संक्रमणले पखाला, पेट दुख्ने, वाकवाकी लाग्ने र टाउको दुख्ने जस्ता रोगहरू निम्त्याउन सक्छ।
हैजा तथा झाडापखालाका बिरामी बढी देखिएका वडा नं. १०, ११ र १२ का सात वटा धाराबाट लिइएका सबै नमूना परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको माइक्रोबायोलोजिष्ट अजय मण्डलले जानकारी दिए। तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमूना संकलन गरिएको थियो।
यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमूनामा पनि जीवाणु फेला नपरेको पुष्टि भएको थियो।
युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण भइरहेको र प्रतिवेदन शुक्रबारसम्म आउने महानगरपालिकाले जनाएको छ।