रौतहटको एक घरमा गोदाम गरिराखेको चिनीका बोरैबोरा देखिने भिडिओ सशस्त्र प्रहरीलाई प्राप्त भयो।
भिडिओ हेर्दा त्यो गोदाममा करिब ७ सय बोरा चिनी रहेको अनुमान थियो।
रौतहटको गरूडा नगरपालिकाको एक घरमा साउन २९ गते बिहान चिनी भण्डारण गरेको सूचना सशस्त्रको हेडक्वार्टरले पाएको थियो।
चिनी भण्डारण गरेको गोदामको भिडिओ प्राप्त भएको सूचना सशस्त्र प्रहरी हेडक्वार्टरले ११ नम्बर गण रौतहटका गणपति एसपी सन्तोष बस्नेतलाई दियो।
चिनी राखेको उक्त घरमा छापामा मार्न प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका डिएसपी अमर लामाको नेतृत्वमा टोली पनि परिचालन भयो। साथै मधेस प्रदेशको सुरक्षा बेस सन्तपुरका डिएसपी राजेन्द्रबहादुर बस्नेतको टोली पनि खटियो।
सशस्त्र प्रहरीको उक्त टोलीले चिनी गौर भन्सार कार्यालय बुझायो। तर भन्सारमा बुझाउँदा थोरै परिमाण चिनी मात्रै बुझाएको भन्दै अहिले चर्चा भइरहेको छ र थप अनुसन्धान अघि बढाएको छ, सशस्त्र प्रहरीले।
उक्त चिनी तस्करीबाट आएको अनुमान छ, चिनी कसले ल्याएको हो अहिलेसम्म खुलेको छैन।
ठूलो परिमाणमा चिनीका बोरा गायब भएपछि सशस्त्र प्रहरी बलका एक जना प्रहरी उपरीक्षक (एसपी) र दुई जना प्रहरी नायब उपरीक्षक (डिएसपी) छानबिनमा तानिएका छन्।
एसपी सन्तोष बस्नेत, डिएसपीहरू अमर लामा र राजेन्द्रबहादुर बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा तानेर छानबिन भइरहेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार एसपी सन्तोष र डिएसपी राजेन्द्रबहादुरलाई बुधबार हेडक्वार्टर तानिएको हो। ‘उहाँहरूमाथि हेडक्वार्टरले छानबिन गर्न बोलाएको हो, अहिले छानबिन भइरहेको छ,’ उनले भने।
डिएसपी अमर लामालाई भने केही समयअघि नै हेडकेवार्टर तानिएको थियो।
‘हेडक्वार्टरमा सूचना आउँदा करिब ७ सय बोराजति चिनी रहेको भिडिओसहित आएको थियो। तर छापा मारेर भन्सारमा चिनी बुझाउँदा गगबडी भएको देखियो, त्यसैले छानबिन गर्नुपर्ने भयो,’ सशस्त्र प्रहरी स्रोतले भन्यो।
भन्सार कार्यालयमा रिपोर्ट बुझाउँदा भने सशस्त्रको टोलीले जम्मा १०६ बोरा चिनीमात्रै बरामद भएको विवरण दिएको थियो। यस्तो विवरण आएपछि हेडक्वार्टरमा हलचल मच्चियो।
छापा मार्न खटिएका अधिकांश सशस्त्र प्रहरीलाई मधेस प्रदेशको छिन्नामस्ता बाहिनीमा तानेर अनुसन्धान अघि बढाइएको थियो।
स्रोतका अनुसार डिएसपी राजेन्द्रबहादुरसहित १७ जनालाई छिन्नामस्ता तानिएको थियो। डिएसपी अमर लामालाई भने सुरूमै हेडक्वार्टर तानिएको थियो।
उनलाई हेडक्वार्टरको कानुन महाशाखाले छानबिन गर्दा अन्यको पनि कैफियत हुन सक्ने भनेर छानबिन गर्न बुधबार एसपी सन्तोष बस्नेत र डिएसपी राजेन्द्रबहादुरलाई तानिएको हो।
छापा मार्न खटिएका सशस्त्र प्रहरी निरीक्षकलाई भने नसियत दिएर राखिएको छ।