काँधको दुखाइ अहिले आम जनमानसमा हुने प्रमुख दुखाइ मध्येमा पर्छ। सबभन्दा धेरै ढाड त्यसपछि घुँडा अनि काँध हो।
काँधको दुखाइ हुने कारणहरू थुप्रै छन्। यसलाई हामीले दुई तरिकाबाट हेर्न सकिन्छ।
पहिलो युवा अवस्थामा हुने दुखाइ जसलाई हामी ४० वर्षभन्दा कम उमेर समूहमा राख्न सक्छौं। यो बेलामा काध फुस्किने, चोट लागेर भित्री कुरकुरे हड्डीमा, लिगामेन्टहरूमा, नशाहरूमा चोट लाग्ने हुन्छ भने अर्को उमेर ढल्केकाहरूलाई ५० नाघेपछि काँधको दुखाइ हुने हुन्छ। त्यो उमेर समूहकालाई वरिपरिको मासु च्यात्तिएर, हड्डीहरू खिएर काँध दुख्ने हुन्छ।
५० कटेपछि धेरैलाई सुगरको समस्या देखिन्छ। सुगरको कारणले पनि काँधको दुखाइ हुनसक्छ। त्यसैले यसका कारणहरू धेरै नै छन्। तर यसलाई छोटकरीमा भन्ने हो भने एउटा चोट लागेर अनि अर्को चोट नलागिकन काँधको दुखाइ हुन्छ।
चोट लागेर दुखेको भन्दा चोट नलागिकन दुखेको दुखाइ अलि खतरनाक हुन सक्छ। किनकि चोट लागेको छ भने बिरामी चाँडै अस्पताल आउँछ तर चोट नलागिकन दुखेको छ भने खासै वास्ता हुँदैन। अनि चोट नलागिकन दुख्नुको कारण पनि पत्ता लगाउन गाह्रो हुन्छ। र मान्छेहरूले त्यसलाई अलि बेवास्ता समेत गर्छन्।
५० नाघिसकेकाहरूलाई चोट नलागिकन मासु च्यातिने, हड्डीहरू घोट्टिएर या सानो सानो पलाउने अनि त्यो हड्डी वरपरको मासुलाई च्यात्ने समस्या हुनसक्छ। सुगर भएकाहरूको जोर्नी जाम हुने समस्या हुन्छ।
सामान्य अवस्थामा यो दुखाइ दिनको समयमा कम हुने साँझ भएपछि दुख्ने हुन्छ। राति हुँदै गएपछि अझ धेरै दुख्छ। अर्को भनेको पाखुरालाई कुनै विशेष पोजिसनमा लैजाँदा दुख्ने हुन्छ। यसको मुख्य लक्षण भनेकै दुखाइ हो।
काँधको दुखाइ भनेको अलि ठूलो रोगको लक्षण पनि हो। जस्तो ज्वरोको साथै पाखुरा पनि दुख्यो भने त्यो साधारण होइन। दुखाइ अत्यधिक मात्रामा भयो, नियमित पाउने औषधिले काम गरेन, आरामले पनि काम गरेन भने त्यसलाई गम्भीर ढंगले लिनुपर्छ।
अन्तबाट दुखाइ सरेर आएको त होइन भनेर समेत बुझ्न जरूरी छ। मुटुको दुखाइ, हृदयघात हुँदा पनि पाखुराको दुखाइ हुनसक्छ। कुमको दुखाइको साथै छाती पनि दुखेको छ, श्वास फेर्न पनि गाह्रो भइरहेको छ भने पनि त्यो साधारण किसिमको दुखाइ होइन भनेर बुझ्न जरूरी छ। हात चलाउनै गाह्रो भइरहेको छ, हात झमझम भइरहेको छ भने त्यो पनि साधारण किसिमको दुखाइ होइन।
२/४ दिनमा पनि दुखाइ कम भएन भने त्यस्ता दुखाइ साधारण दुखाइ होइन त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्छ।
५० कटेका व्यक्तिहरू उपचारको लागि ढिलो आउने चलन छ। यसको कारण उमेर धेरै भएपछि अलि अलि दुख्ने हुन्छ भनेर मान्छेहरू सहन खोज्छन्। धेरै दुखाइ पनि हुँदैन, त्यो दुखाइ नभएको हुनाले अलि सहेर बस्ने ठीक भइहाल्छ नि भन्ने हुन्छ। डाक्टरलाई नदेखाइकन पेनकिलर किनेर खाने गर्न हुँदैन। उमेर बढ्दै गएपछि पाखुरा दुखाइलाई अलि गम्भीर ढंगले लिनुपर्छ। समयमै रोग पत्ता लगाएर यसको उपचार गर्नु राम्रो हुन्छ।
अहिलेको समयमा पाखुरा सम्बन्धी विशेषज्ञता हासिल गरेका विज्ञहरू नै उपलब्ध भइसकेका छन्। तर जनसाधरणले बुझ्नुपर्ने कुरा के छ भने धेरैले दुखाइको उपचार गर्न मात्र खोजेका हुन्छन्। त्यसैले दुखाइको पछि लाग्नभन्दा के रोगले मलाई यो भइरहेको छ भनेर पत्ता लगाउनु महत्वपूर्ण हुन्छ।त्यसको लागि विभिन्न परीक्षणहरू गरिन्छ। सिटिस्क्यान, एक्सरे, एमआरआई गरेर रोग पत्ता लगाउन जरूरी छ। रोग पत्ता लागेपछि मात्र त्यसको उपचार कसरी हुन्छ भनेर चिकित्सकले निर्णय गर्न सक्छ।
यो उपचारको कुरा गर्ने हो भने धेरैजसोले गर्ने भनेको फिजियोथेरापी हो। धेरैजसो पाखुराको रोगहरूलाई राम्रो फिजियोथेरापीबाट ठिक पार्न सकिन्छ। तर रोग पत्ता लगाएर मात्र फिजियथेरापी गर्नु राम्रो हुन्छ। रोगै पत्ता नलगाइकन फिजियोथेरापी गर्न हुँदैन। धेरैले २/३ दिन फिजियोथेरापी गरेर मलाई ठीक भएन भन्ने ठान्छन्। यदि फिजियोथेरापी नै उपचार हो भने ७/१० दिन गरेर हुँदैन महिनौंसम्म गर्नुपर्ने हुनसक्छ।
मासु च्यातिने, युवा उमेरमा जोर्नी फुस्किने लगायतका समस्याको उपचार फिजियोथेरापीले हुँदैन। यस्तो बेला सर्जरीको आवश्यकता पर्छ।
त्यसैले दुखाइभन्दा पनि रोगलाई हेरेर उपचार गर्नुपर्छ। एउटै रोगको उपचार फरक मान्छेलाई फरक तरिकाले समेत हुनसक्छ।
पाखुरा दुख्यो भनेर विभिन्न खालका तेलले मालिस गर्ने गरिन्छ। कतिलाई यसले ठीक हुन पनि सक्छ तर दुखाइ आफैमा रोग होइन। त्यसैले दुखाइको कारण पत्ता लगाउनु पहिलो काम हो।
अहिले पेन क्लिनिक भनेर ठूला अस्पतालहरूले चलाउन थालेका छन्। यो एउटा राम्रो पाटो पनि हो। सँगै अर्को कुरा के हो भने सबैभन्दा पहिला दुखाइको कारण पत्ता लगाउन जरूरी छ।
(काँधको दुखाइ, यसको उपचार अनि बच्ने उपायबारे बिएण्डबी अस्पताल हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्रा.डा.अमित जोशीसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)