केही दिन पहिले भैरहवाका रूद्र ज्ञवाली आफूले नियमित खानुपर्ने औषधि लिन भीम अस्पतालमा रहेको फार्मेसीमा गए।
फार्मेसीका कर्मचारीले ज्ञवालीले नियमित खाइरहेका इम्याजलीफ्लोजिन, लिनागिलिप्टीन, टाम्सुलोसिन हाइड्रो क्लोराइड लगायतका औषधि दिए।
औषधिसँगै बिल दिएका ती कर्मचारीले एउटै ट्याब्लेटमा तोकिएको मूल्यभन्दा ११ रुपैयाँले बढी लिएको ज्ञवालीले चाल पाए।
स्वास्थ्य बीमा गरेका पूर्वनिजामती कर्मचारी उनी त्यही कार्यक्रम अन्तर्गतका औषधि लिएर खाने गरेका छन्। तर ज्ञवालीले यसअघि आफू यसरी ठगिँदै आएको चाल पाएका थिएनन्।
करिब १८ वर्षदेखि सुगर (मधुमेह) र प्रोस्टेटको औषधि सेवन गर्दै आएका ज्ञवालीले २ वर्षदेखि स्वास्थ्य बीमामा आबद्ध भएर औषधि खान थालेका हुन्।
उनले खाइरहेको औषधि नेपाली उत्पादन हो। फार्मेसीमा खरिद गरेको ईम्याजलीफ्लोजिन नामक १० ट्याब्लेटको एक पत्ता रहेको औषधिमा २०० रुपैयाँ मूल्य उल्लेख छ। टाम्सुलोसिन हाइड्रो क्लोराईडको १५ क्याप्सुलको मूल्य १८० उल्लेख छ।

तर फार्मेसीले भने उनलाई ईम्याजलीफ्लोजिन नामक औषधिको ६०० रुपैयाँ पर्नेमा ३० ट्याब्लेटको ३ सय ४२ रुपैयाँ थपेर ९४२ रुपैयाँ लियो भने टाम्सुलोसिन हाइड्रो क्लोराईडको ३६० रुपैयाँ लिनुपर्नेमा १०३ रुपैयाँ बढी लगाएर ३० क्याप्सुलको ४६३ रुपैयाँ लियो।
कहिलेकाहीँ नजिकैको निजी क्लिनिकमा पुगेर औषधि किन्दा २० रुपैयाँ बुझाउँदै आएका ज्ञवालीले एउटै ट्याब्लेटमा किन यति धेरै मूल्य फरक भनेर अस्पतालका कर्मचारीलाई सोधे।
उनलाई अस्पतालका कर्मचारीले बीमाको दर रेट नै तोकिएकोले महँगो पर्न गएको जबाफ दिए।
त्यसपछि ज्ञवालीले औषधि महँगो पर्नुको कारण सोधखोज गर्दै भीम अस्पतालमा निवेदन समेत दिए। अस्पतालले उनलाई बीमा बोर्डले निर्धारण गरिएको मूल्यको आधारमै बिक्री भएको मौखिक जानकारी दियो। तर मौखिक जबाफले चित्त नबुझेपछि उनले लिखित पत्र मागे।
अस्पतालले उनलाई बीमा बोर्डबाट निर्धारण गरिएको मूल्यमा बिक्री गरिएको र बढी मूल्य निर्धारण गर्नुको कारण सोध्दै बीमा बोर्डमा पत्राचार गरिएकोमा जबाफ प्राप्त नभएको लिखित जानकारी दियो।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार औषधिमा उल्लेखित मूल्यभन्दा बढी मूल्यमा कुनै पनि औषधि बेचबिखन गर्न पाइँदैन। स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख चन्द्रकान्त ज्ञवालीले सरकारी, निजी वा गैरसरकारी फार्मेसी वा क्लिनिकले औषधिमा प्रिन्ट मूल्यमा बेचबिखन गर्नुपर्ने बताए।
‘फार्मेसीले खरिद गरेको मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा राखेर बेचबिखन गर्न पनि पाउँदैनन्। औषधिमै प्रिन्ट भएर आएको अवस्थामा अधिकतम मूल्य प्रिन्ट भएकोमा त्यो भन्दा बढी लिन पनि पाइँदैन,’ ज्ञवालीले भने।
रूद्र ज्ञवाली त प्रतिनिधि पात्र मात्र हुन्। स्वास्थ्य बीमा कार्यक्रमबाट औषधि खाने धेरैले बीमाको रकमभन्दा धेरै कम मूल्यका औषधि पाउने गरेको तर औषधि विक्रेताले बीमाकै दररेट अनुसार बीमा बोर्डबाट भुक्तानी लिइरहेका छन्।
स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका अधिकांश बिरामीहरू दीर्घ रोगका छन्। मधुमेह, उच्च रक्तचाप तथा थाइराइड ग्रन्थीका दीर्घ रोग भएका बिरामीहरू बीमा कार्यक्रममा समावेश भएका छन्। उनीहरूले औषधिमा लेखिएको प्रिन्ट मूल्य नहेरी फार्मेसीले मागेको मूल्य तिर्ने गर्छन्।
स्वास्थ्य बीमा बोर्डले २०७४ सालमा बीमामा समावेश गरिएका औषधिहरूको दर कायम गरेको थियो। त्यसयता धेरै पटक औषधिहरूको मूल्य परिवर्तन हुने गरेको छ। तर स्वास्थ्य बीमा बोर्डले भने अहिले पनि २०७४ सालको त्यही दरमा बीमाको औषधि वितरण गर्ने फार्मेसीलाई औषधिको भुक्तानी दिने गरेको छ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत बिकेश मल्लले स्वास्थ्य बीमामा समावेश गरिएका औषधिहरूको मूल्य दर बोर्डले कायम गरेको र त्यही अनुसार भुक्तानी दिने गरिएको बताए।
मल्लले अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका बिरामीहरूको प्याकेजमा उपचार गर्ने भएकोले कुनै औषधिको कम र कुनै औषधिको केही बढी मूल्य भएको हुन सक्ने बताए। तर अस्पतालहरूले कतिपय औषधिको मूल्य महँगो लगाउने गरेको गुनासो आइरहेकोले त्यसमा पुनरावलोकन गर्ने तयारी पनि भइरहेको उनले बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा बढी लिनु नियमविपरीत भएको बताउँछन्।
‘औषधिको पत्ता वा बोतलमा लेखिएको एमआरपी भन्दा बढी मूल्य कसैले लिएको छ भने त्यो सिधै कालोबजारी हो, त्यस्तोलाई कारबाही हुन्छ,’ उनले भने।
डा. बुढाथोकीले औषधि पसलको नाफा समेत जोडेर एमआरपी राखिएकोले त्योभन्दा बढी मूल्य कसैले पनि लिन नपाइने र कसैले लिएको छ भने सिधै स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरे।
