दाङको तुलसीपुर उपमहानगरपालिका–३ सातबासस्थित प्राथमिक विद्यालय 'कल्ले राम्रीकोट' को शिशु कक्षाको दृश्यले ध्यान तानेको थियो। कक्षा कोठाको भुइँमा बिछ्याइएको कार्पेटमा पाँच जना विद्यार्थी अगाडि थिइन् लक्ष्मी पुन।
२२ वर्षीया लक्ष्मी पुन उनीहरूलाई पढाइरहेकी थिइन्।
कक्षा कोठाको उत्तरतर्फको कुनामा एउटा झोलुंगो थियो। त्यसमा लक्ष्मीकी ६ महिनाकी छोरी सुतेकी थिइन्।
लक्ष्मीको माइतीघर तुलसीपुर–३ राम्री भन्ने ठाउँमा हो। उनका श्रीमान तुलसीपुर–४ वनहरिका तारा राना मगर हुन्। नाताले सोल्टी–सोल्टीनी उनीहरू एकअर्कालाई प्रेम गर्थे। पारिवारिक सहमतिमा बिहे गरेका हुन्।
लक्ष्मीले कक्षा १२ पढेर पूरा गरेकी छन्। उनका श्रीमान ताराले भने घरको परिस्थितिका कारण कक्षा ११ पढ्दै गर्दा छाडे र मलेसिया गए। विदेशमा दुःख गरेर फर्केपछि लक्ष्मीको पढाइमा सहयोगी बने। स्नातक तहमा भर्ना हुने लक्ष्मीको योजना भएपनि बच्चा जन्मिएपछि स्थगित गरिन्।
'अब आउने शैक्षिक सत्रमा फेरि भर्ना हुने तयारी छ,' लक्ष्मीले भनिन्।
तारा मलेसियामा करिब एक वर्षअघि फर्किएका हुन्। लक्ष्मीको आग्रहमा उनी फेरि विदेश गएनन्। हाल तुलसीपुर बजारमै तरकारी व्यापार गर्छन्।
फागुनमा छोरी जन्माएको एक महिनापछि नै लक्ष्मीले स्कुलमा पढाउन सुरू गरेकी हुन्।


'वैशाखदेखि एक महिनाकी छोरी बोकेर ठाडो पहाडको बाटो पार गरी पढाउन थालेकी हुँ,' उनले भनिन्।
विद्यालयका अनुसार उनी अनुदान शिक्षक हुन् र मासिक तलब दस हजार रूपैयाँ पाउँछिन्। उनी शिशुदेखि कक्षा ५ सम्म पढाउँछिन्।
'आफू थप पढ्न खर्च जोहो गर्न मेहनत गरिरहेकी छु,' उनले भनिन्।
यही जागिरका लागि उनी आफ्नो माइतीघरमै बसिरहेकी छन्।
आफ्नो घर वनहरिबाट स्कुल भएको ठाउँ सातबास धाउन सम्भव नभएरै माइती बसेको उनले बताइन्।
उनका श्रीमान पनि तुलसीपुरमा कोठा भाडामा लिएर बस्छन्। शुक्रबार तारा छोरी र श्रीमतीलाई भेट्न ससुराली आउँछन्। लक्ष्मी भने लगातार दुई–तीन दिन बिदा हुँदा मात्रै घर जान पाउँछिन्।
शिशु कक्षा कोठाको उत्तर कुनामा सुतिरहेकी उनकी छोरी बेला रून्छिन्।
यस्तो बेला लक्ष्मीलाई आपत पर्छ।
झोलुंगो हल्लाउँदै फकाउन खोज्छिन्। कहिलेकाहीँ छोरी झन् डाँको छाडेर रून्छिन्। लक्ष्मीले छोरीलाई झोलुंगोबाट निकालेर फकाउँछिन्।
'बिरामी भएका बेला झन् गाह्रो हुन्छ,' उनले भनिन्।
छोरीलाई सन्चो नहुँदा लक्ष्मीकी आमा रामकली पुन स्कुलमै आएर दिनभर बच्चा हेरिदिन्छिन्। तर उनी बाहिर गएका बेला लक्ष्मी आफैले पढाउँदै छोरीको हेरचाह गर्नुपर्छ।
लक्ष्मीले शिशु कक्षा बाहेक घन्टी अनुसार अरू कक्षामा पनि पढाउनुपर्छ। तर छोरीलाई शिशु कक्षाबाहेक अरू कोठामा लैजान पाइँदैन।
यो स्कुलमा स्थायी शिक्षकका रूपमा एक जना प्रधानाध्यापक टेकबहादुर गुरूङ छन्। अर्का एक जना करार सेवामा छन् भने बालविकासकी एक शिक्षक छन्। एक जना कार्यालय सहयोगी गरी कुल पाँच जनाले स्कुल सञ्चालन गर्छन्।


लक्ष्मी अरू कक्षा पढाउन गएकी बेला छोरी रोइन् भने शिशु कक्षाका शिक्षकले फकाइदिन्छन्।
'के गर्नु, आमालाई सन्तानको माया धेरै लाग्दो रहेछ,' उनले भनिन्, 'घामपानीबाट जोगाउँदै दिनकै ठाडो बाटो लैजान्छु। तर अब त छोरी ठूली भइसकी। अलि ढुक्क छ। छोरी हुर्काउँदै साना केटाकेटीलाई पढाउन पाउँदा खुसी छु।'
प्रधानाध्यापक टेकबहादुरले पनि लक्ष्मीको मेहनत सराहनीय रहेको बताए।
'लक्ष्मीजी एकदमै मेहनत गर्नुहुन्छ। हामी घन्टी खाली भएका बेला उहाँकी छोरी हेरिदिन्छौं। नानीका कारण कक्षा कोठामा समस्या आएको छैन,' उनले भने।
कक्षा ५ सम्मको यो स्कुल २०६२ सालमा खुलेको हो। यस वर्ष १९ छात्रा र २२ छात्र गरी ४१ जना विद्यार्थी भर्ना भएका छन्। तर नियमित ३० जना हाराहारी हुन्छन्। डेढ घन्टा उकाली–ओराली बाटो छ। वर्षाका कारण सबै आउन नसक्ने टेकबहादुरले बताए।
सातबास क्षेत्रको पानी मुहान र यहाँबाट लगिएको पाइपलाइनले तुलसीपुरको प्यास मेटाउँछ। तर सातबासकै स्कुलमा पानी छैन। शौचालयमा पानी बोकेर जानुपर्छ। भौतिक अवस्था पनि जीर्ण भएकाले राज्यले विशेष चासो दिनुपर्ने प्रधानाध्यापक टेकबहादुरले बताए।