जापानी इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने एउटा संक्रामक रोग हो। क्युलेक्स जातिको लामखुट्टेबाट सर्ने यो रोग असारदेखि असोजसम्म देखिन्छ। सबभन्दा बढी जोखिम हुने समय साउन र भदौ हो।
विशेष गरेर धान खेती हुने समयमा यो रोग फैलिने भएकाले धान खेती हुने ठाउँहरू नै संक्रमणको जोखिममा हुन्छन्। धान खेतमा जमेको पानीमा क्युलेक्स लामखुट्टे हुन्छन्। ती लामखुट्टेले सुँगुर, हाँस लगायतलाई टोक्छन्। अनि तिनै लामखुट्टेले मानिसलाई टोके भने जापानी इन्सेफ्लाइटि संक्रमण हुने हो।
धान रोप्ने समय असार र थन्क्याउने असोजमा भए पनि नेपालमा यो रोगको सबभन्दा जोखिम साउन र भदौमा हुन्छ।
तर जापानी इन्सेफ्लाइटिसको संक्रमण भएको मानिसलाई लामखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोके पनि यो रोग सर्दैन। अर्थात् एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग सर्दैन।
यो रोग लागिसकेपछि उच्च ज्वरो आउने, टाउको एकदमै दुख्ने अनि बिस्तारै होस हराउँदै जान्छ। चेतको अवस्थामा परिवर्तन हुन्छ भने व्यक्ति बोल्दा बोल्दै एकदम टाउको दुख्यो भन्ने अनि ज्वरो आयो भन्दाभन्दै बेहोस हुने स्थिति पनि हुन्छ। कतिपय अवस्थामा त बिरामी कोमामै जान्छ।
यो रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्दै रोकथाम गर्नु उत्तम हुन्छ। हुन त सबै रोगमा यो लागू हुन्छ। तर जापानी इन्सेफ्लाइटिसको हकमा अझै अर्थ छ। किनभने यो रोग लागेपछि मृत्युदर उच्च छ। ३० प्रतिशत बिरामीको मृत्यु हुन्छ।
यो रोगबाट बच्ने पहिलो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो। सुत्दा झुल टाँगेर सुत्ने, बाहिर निस्किँदा शरीर पूरा ढाक्ने कपडा लगाउने लगायत गर्नुपर्छ।
सरकारले १२ महिनाको बच्चालाई जापानी इन्सेफ्लाइटिस विरूद्धको खोप दिन्छ। त्यो समयमा छुट्यो भने ५ वर्षको उमेरसम्म निःशुल्क लगाउन पाइन्छ।
सरकारले निःशुल्क दिने खोप लगाउन छुटाउन हुँदैन। खोपकै कारण बच्चाहरूमा यो रोगको संक्रमणको खतरा निकै कम छ। खोप नलगाएका उमेर समूहलाई यसको जोखिम उच्च छ।
यो रोग लागेपछि उपचार हुँदैन। कोभिड–१९ जस्तै सहयोगी उपचार गर्ने हो। अर्थात् जे समस्या देखिएको छ, त्यसको उपचार गरिन्छ।
कसैलाई अत्यधिक ज्वरो आयो भने त्यस अनुसार, अनि कसैलाई श्वासप्रश्वासमा समस्या देखियो भने त्यस अनुसार उपचार गर्नुपर्छ। त्यसैले कुनै पनि लक्षण देखिनासाथ तत्कालै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्छ।
यो रोगको धेरै जोखिम तराईका जिल्लामा छ। धान खेत धेरै हुने अनि सुँगुर, हाँस पनि पालिने भएकाले त्यो क्षेत्रमा धेरै जोखिम हुन्छ। तराईका २४ जिल्ला, भित्री मधेसका जिल्ला अनि काठमाडौं लगायतमा पनि यसको जोखिम छ। अर्थात् देशका ६० जिल्लामा यसको जोखिम हुन्छ।
गत वर्ष, २०२४ को तथ्यांक हेर्ने हो भने ८६ जनामा यसको संक्रमण देखिएको थियो जसमा २५ जनाको मृत्यु भयो। यो भनेको करिब ३० प्रतिशत मृत्यु हो। रोग लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुनु भनेको ठूलो समस्या हो।
सन् २०२५ लाई आधार मान्ने हो भने अहिलेसम्म ५८ जनामा संक्रमण देखिएको छ जसमा ८ जनाको मृत्यु भएको छ। कतिको आइसियूमा उपचार भइरहेको छ। धेरै जोखिम हुने महिना भदौ भर्खरै सुरू भएको छ।
कुनै बेला रोग लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुन सक्छ भने कुनै बेला योभन्दा धेरै वा थोरै पनि हुन सक्छ। यदि हामीले सहयोगी उपचारमा ध्यान दिन सक्यौं र सतर्कता अपनायौं भने ३० प्रतिशत मृत्युदर घटाउन सकिन्छ।
(डा. अभियान गौतम स्वास्थ्य सेवा विभाग, टेकुमा बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख हुन्।)