सुनसरीस्थित बराहक्षेत्र जाँदै गर्दा बुबासँगै खोलाले बगाएकी धरानकी अनिता राई २४ घन्टाभन्दा बढी समयदेखि बेपत्ता छिन्।
धरान १६ का व्यवसायी जीवन राई र उनकी छोरी १८ वर्षीया अनिता बुलेट मोटरसाइकलमा चढेर शुक्रबार दिउँसो बराहक्षेत्र जाँदै थिए।
त्यस क्रममा दूधपानी भन्ने खहरे खोलाबाट मोटरसाइकल चढेरै तर्ने क्रममा मोटरसाइकलसँगै उनीहरुलाई खोलाले बगाएको थियो। उनीहरुलाई बगाएको खहरे नजिकै गएर सप्तकोशीमा मिसिन्छ।
त्य सक्रममा बुबा जीवन पौडेर बाहिर निस्के पनि अनिता भने बेपत्ता बनेको र अहिलेसम्म खोजी जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।
अनिताको खोजीमा खटिएका छिमेकी गोपी योगीले दिएको जानकारी अनुसार उनीहरु परिवारै आफ्ना दिवंगत पिताको चिना समापन गर्न बराहक्षेत्र जाँदै थिए।
त्यहीक्रममा मोटरसाइकलको पछाडि बसेकी माइली छोरी अनिता र मोटरसाइकल हाँकिरहेका बुबा जीवनलाई खोलाले लडाएको थियो।
योगीका अनुसार घाइते जीवनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ।
‘उनीहरु बगेको ठाउँबाट झण्डै ६० मिटर दक्षिणमा सप्तकोशीको भंगालो छ’ योगीले भने ‘हिजो दिउँसो साढे १ बजेदेखि अहिलेसम्म खोजी गर्दा पनि छोरी भेटिन सकेको छैन।’
खोलाले मोटरसाइकल लडाएपछि बग्दै गर्दा अनिता बाबा भन्दै कराएको परिवारका अन्य सदस्यले सुनेका थिए। तर, त्यसपछि उनी भेटिन सकेकी छैनन्। मोटरसाइकल पनि भेटिन सकेको छैन।