रुपन्देहीको तिलोत्तमास्थित डिङ्गर नगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन स्वतन्त्र लेखा परीक्षण समितिलाई हस्तान्तरण गरिएको छ।
सहकारीको करोडौँ रकम हिनामिनाको विषयमा छानबिन गर्न स्वतन्त्र लेखा परीक्षण समिति गठन गरिएको थियो।
सहकारीको रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर कुवंर फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताहरूले लेखा परीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा स्वतन्त्र लेखा परीक्षण गर्न समिति बनाएको थियो।
सोही समितिले २८ दिन लगाएर तयार गरेको करिब ४५० पृष्ठको प्रतिवेदन समितिका कोषाध्यक्ष र बचतकर्ताद्धारा गठित छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई बिहीबार बिहान हस्तान्तरण गरिएको हो।
लेखा परीक्षक योगचन्द्र बास्तोलाले आफूहरूले उक्त सहकारीको दुग्ध कारोबार बाहेकको सम्पूर्ण हर हिसाब अध्ययन गरी प्रतिवेदनमा समावेश गरेको बताए।
‘४०३ पृष्ठको प्रतिवेदन र थप अनुसूचीमा उल्लेख गरेका छौं,’ उनले भने।
स्वतन्त्र लेखा परीक्षकले बुझाएको प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी दर्ता रजिस्टारको कार्यालयमा बिहीबार नै बुझाइने छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेल प्रसाद शर्माले बताए।
लेखा परीक्षकले दिएको प्रतिवेदनमा सहकारीको १२ करोड रुपैयाँ हिनामिना गरेको देखिएको तथा करिब २५ करोड रुपैयाँ नियम विपरीत लगानी गरेको देखिएको छानबिन समितिका एक सदस्यले बताए।
सहकारीको १४ वर्षको अवधिमा अध्यक्ष र सचिवले करिब ८० करोड रुपैयाँ गैर कानुनी ढङ्गले चलाएको देखिन्छ। त्यसमध्ये पछिल्लो वर्ष २५ करोड नियम विपरीत लगानी गरेको र १२ करोड रुपैयाँ कहाँ छ भन्ने नदेखिएको ती सदस्यले बताए।
गएको असार १७ गते सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौँ अपचलन गरी फरार भएपछि बचतकर्ताहरूले उनीहरूलाई कारबाहीको माग गर्दै आफ्नो बचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दबाब दिँदै आएका थिए।
यसबिचमा सहकारीका व्यवस्थापक वसन्त पराजुली लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। व्यवस्थापक पराजुलीकी श्रीमतीले गएको असार २५ गते जिल्ला अदालत रुपन्देहीमा सम्बन्ध विच्छेदको निवेदन पेस गरेपछि बचतकर्ताहरू आक्रोशित भएका थिए।
पछिल्ला केही दिन यता बचतकर्ताहरूले अध्यक्ष र सचिवका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ। बुधवार अपराह्नदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबिच छलफल भए पनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताहरूले सहकारी कार्यालयबाट उनीहरूलाई रातभर निस्कन दिएनन्।
शारदा र गीतादेवी अहिले पनि बचतकर्ताहरूको नियन्त्रणमै रहेका छन् भने प्रहरीले सुरक्षा दिएको छ।
पटक पटकको छलफलमा बचतकर्ता र अन्य सञ्चालकहरूले अध्यक्ष फरार भएकोले कि अध्यक्षकी श्रीमतीले अध्यक्षलाई सम्पर्कमा ल्याउनु पर्ने कि हिनामिनाको जिम्मेवारी अध्यक्षको श्रीमतीले समेत लिएर जायजेथाबाट तिर्नुपर्ने बताउँदै आएका थिए।
तर अध्यक्ष तिवारीकी पत्नी शारदाले अपचलन र हिनामिना भएको रकमको जिम्मेवारी अध्यक्ष र सचिव मात्र नभई सिङ्गो सञ्चालक समितिले लिनुपर्ने तर्क गरेकी थिइन्।
पीडितहरूले अध्यक्ष र सचिवलाई तत्काल झिकाउन माग गर्दै बचत फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्।
असार १७ देखि फरार दुवै जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ताहरूको आरोप छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले झन्डै एक महिनादेखि फरार रहेका अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिट्टै पक्राउ पर्ने बताए।