बुधबार बिहान तिब्बतबाट नेपालतर्फ बग्ने ल्हेन्दे खोलामा भीषण भेलबाढी आएपछि तटीय क्षेत्रमा क्षति पुर्याएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले बताएअनुसार ल्हेन्दे नदीमा बुधबार बिहान २ बजे बाढी आएको थियो।
बाढीका कारण यसअघि नै क्षतिग्रस्त भई अस्थायी रूपमा सञ्चालनमा आएको स्याफ्रुवेशी– रसुवागढी सडकखण्ड क्षति पुगेको छ।
बुधबारको बाढीले मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोष्ट नजिक गरी ८ वटा स्थानहरूमा करिब ५४० मिटर सडकखण्डमा क्षति पुगेको छ। र, सम्पर्क टुटेको छ।
त्यस्तै, स्याफ्रुवेशी–दोभान सडकखण्ड अन्तर्गत लाङटाङ जलविद्युत आयोजना प्लान्टनजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरूद्ध भएको जिप्रका रसुवाले जानकारी दिएको छ।
बुधबार बिहानको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको र यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटा समेत बगाएको छ।
त्यस्तै गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भन्सार यार्डको पारिपट्टि रसुवागढी जलविद्युत आयोजनाको आवास क्याम्पको वर्कसपमा गत असार २४ गतेको भेलबाढीले बालुवामा पुरिएको अवस्थामा रहेको दुई वटा पिकअप समेत बगाएको जिप्रका रसुवाले बताएको छ।
बाढीले रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ जोड्ने त्रिशूली नदीमा रहेको पक्की पुलको दुवै तर्फको प्रोटेक्सन ग्याबिन/वाल भत्काएको छ।
गोसाइँकुण्ड गाउँपालिका–५ रूंगा पुलनजिकै काठले बनेको जस्ताको छानो भएको चार वटा टहरा पनि बाढीले बगाएको क्षतिको विवरणमा उल्लेख छ।
गत असार २४ गतेको बाढीबाट समेत प्रभावित भएका त्रिशूली थ्रि ए जलविद्युत आयोजना र त्रिशूली थ्रि बि आयोजनाको हब स्टेसनका केही टावर बाढीले बताएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
