मधेसका पूर्वप्रदेश प्रमुख अहिराज भन्ने राजेश झाबाट पीडित भनिएकी युवतीविरूद्ध पनि मुद्दा दायर भएको छ।
ती पीडित युवतीविरूद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार आपराधिक लाभको मुद्दा दायर भएको हो।
युवतीले अहिराजविरूद्ध जाहेरी दिएकी थिइन्। मंगलबार सरकारी वकिलले अदालतमा बलात्कारको मुद्दा समेत दायर गरेको थियो।
यस्तै अहिराजकै जाहेरीको आधारमा सरकारी वकिलले युवतीविरूद्ध पनि मुद्दा दायर गरेको हो।
अहिराजले जाहेरीमा बेलाबेलामा युवतीले रकम माग गरेको पनि दाबी गरेका छन्।
२०८१ भदौ १८ गते युवतीले बैंकको नम्बर दिएर रकमको माग गरेको पनि अहिराजले बताएका छन्।
पछि नगद नै माग गरेको भनेर २० लाखमध्ये तीन लाख रुपैयाँ नगद लिएर आफू युवतीको होस्टलमा पुगेको पनि अहिराजले जाहेरीमा उल्लेख गरेका छन्।
पीडित युवतीले भने उक्त रकम आफ्नै भएको पनि सरकारी वकिलसँग बयानमा बताएकी छन्।