राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बर्दिया जिल्ला सभापति विपिन पौडेलको मंगलबार राति निधन भएको छ।
काम विशेषले चेन्नईबाट सिंगापुर जाने क्रममा पौडेलको निधन भएको पार्टीका प्रवक्ता मनिषकुमार झाले जानकारी दिए।
‘चेन्नईबाट परिवारका सदस्य र साथीहरूसँग मलेसिया हुँदै सिंगापुर गएको र हृदयाघातका कारण निधन भएको जानकारी पाएका छौं,’ उनले भने।
उनका एक साथीले सेतोपाटीलाई बताएअनुसार निधन भएका पौडेल चेन्नईबाट क्रुजमा मलेसिया र क्रुजमै मलेसियाबाट सिंगापुर पुगेका थिए। सिंगापुर पुगेपछि क्रुजबाट निस्केर होटल पुग्दा हृदयाघात भएको थियो। र होटलबाट अस्पताल लैजाँदा-लैजाँदै मृत्यु भएको उनले बताए।
करिब ४६ वर्षीय पौडेल रास्वपा स्थापनादेखि नै सक्रिय थिए।
उनी सुरूआतदेखि नै बर्दियाका जिल्ला सभापति रहेको झाले बताए।
उनको पार्थिव शरीर भोलि नेपाल ल्याइने झाले बताए।
*यसअघि फरक परेको विवरण सच्याइएको छ।- सम्पादक