पतञ्जली जग्गामा भ्रष्टाचार गरेको मुद्दामा पूर्व भूमिसुधार सचिव छविराज पन्तसँग ५ लाख धरौटी माग भएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीसँग पाँच लाख धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
पन्तसहित पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध पनि मुद्दा दायर गरेको थियो।
२०६६ माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो।
यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ।
तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन। तर सो जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ।