प्रधानमन्त्री केपी शर्मा ओली चढेको गाडीलाई पछ्याउँदै गरेका सुदूरपश्चिम प्रदेशका दुई वटा मन्त्रीको गाडी ठोक्किएका छन्।
मंगलबार दिउँसो लम्कीचुहा नगरपालिका-१ मा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी जुधेको कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।
उनका अनुसार दुई वटै गाडी सँगसँगै प्रधानमन्त्रीलाई पछ्याउँदै थिए।
बा २ झ १४१९ नम्बरको गाडीमा मन्त्री पाल सवार थिए।
उक्त गाडीलाई पछाडिबाट कानुन मन्त्री सार्की चढेको से १ झ ३३० नम्बरको गाडीले ठक्कर दिएको हो।
चालक आत्तिएर वा ब्रेक नचलेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
कानुन मन्त्री सार्की सवार से १ झ ३३० गाडीमा बढी क्षति पुगेको छ।
अहिले दुबै मन्त्री बा. २ झ १४१९ को गाडीमा चढेर गइसकेका छन्।
प्रधानमन्त्री ओली आज कैलालीको चिसापनीमा पुगेका छन्। सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीलाई पछ्याउँदै जाने क्रममा दुई मन्त्रीका गाडी आपसमा ठोक्किएको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।