बाजुरामा सवारी दुर्घटनाका घाइतेको उद्धारका लागि हेलिकप्टर पुगेको छ।
बाजुराका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवबहादुर चौधरीले दिउँसो साढे २ बजेपछि घाइतेको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर आइपुगेको जानकारी दिए।
पहिलो लटमा चार जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत् कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको उनले बताए।
बाजुराको हिमाली गाउँपालिकाको टिटीचौरमा पुर्याइएका ६ जनामध्ये चार जना घाइतेलाई हेलिकप्टरमार्फत् सुर्खेततर्फ पठाइएको हो।
‘घाइते तेह्र जना सबैको अवस्था गम्भीर नै छ,’ चौधरीले भने, ‘चार जनालाई छोडेर फेरि हेलिकप्टर अरूलाई लिन आउने कुरा भएको छ।’
प्रहरीका अनुसार दुर्घटनास्थल विकट र दुर्गममा रहेको हुँदा अन्य केही घाइतेलाई अझै टिटीचौरतर्फ ल्याउने क्रम जारी छ।
बिहीबार बिहान भएको यात्रुवाहक जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। १६ जना घाइतेमध्ये घाइते १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमै बाजुराको हिमाली गाउँपालिका–५ सुन्नीबाडा गाउँकी ६५ वर्षीया बिजौरा रोकाया, ७० वर्षीया बाचा रोकाया र ३५ वर्षीया जुनेली रोकायाको मृत्यु भएको बाजुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवबहादुर चौधरीले सेतोपाटीलाई बताए।
बाजुराको हिमाली गाउँपालिका–५ क्युडीदेखि कुवाडीतर्फ जाँदै गरेको बा.प्र. ०३००१ ज ०३३८ नम्बरको जिप सडकदेखि झन्डै साढे दुई सय मिटर तल खसेको थियो।
उक्त जिप बिहान साढे ७ बजेतिर दुर्घटनामा परेको भए पनि एक जना स्थानीय महिलाले फोन गरी बिहान ९ बजे मात्रै प्रहरीलाई जानकारी दिएकी थिइन्। त्यसपछि अस्थायी प्रहरी पोष्ट कुवाडी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ लागेको थियो।
प्रहरी निरीक्षक चौधरीका अनुसार प्रहरी पोष्टको प्रहरी बिहान साढे ११ बजे र जिल्ला प्रहरीको टोली पौने १ बजेतिर घटनास्थल पुगेको थियो।
दुर्घटनामा परी जिपका चालक हिमाली–२ कोटका २३ वर्षीय गौरी बुढा, हिमाली – ५ क्यूडीका ३५ वर्षीय बाचलाल रोकाया, सोही वडाका ३६ वर्षीय धनसिंह रोकाया, ७० वर्षीया भदैरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर बुढा, ७० वर्षीय अम्म रोकाया, ४५ वर्षीय भैजित बुढा, १४ वर्षीय दशरथ बुढा, १२ वर्षीया अप्कली बुढा, ५० वर्षीय रनसुर सुनार, ५० वर्षीय राजबहादुर बुढा थापा र हुम्लाको ताजाकोट गाउँपालिका – ३ का ३६ वर्षीय सुरेन्द्र शाहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता चौधरीले बताए।
दुर्घटनाका घाइतेमध्ये हिमाली – ५ क्यूडीका ५० वर्षीय छते रोकाया, ८ वर्षीय साजन रोकाया, हिमाली – ५ बच्छियाका ३५ का दलबहादुर चदराको अवस्था मध्यम रहेको चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार जिपमा १९ जना सवार थिए। साँघुरो बाटोमा अनियन्त्रित भई जिप साढे दुई सय मिटर तल खस्न पुगेको थियो।