रूकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जना अझै फेला परेका छैनन्।
टिपरसहित नदीमा खसेका दाङका टिपर चालक मनिराम चौधरी, रूकुम पश्चिम सानिभेरी गाउँपालिका–३ का धनविर बराइली र रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका हरि विक हालसम्म फेला पर्न नसकेको रूकुम पश्चिमका प्रहरी प्रमुख डिएपपी प्रमेश विष्टले सेतोपाटीलाई बताए।
रूकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरूको खोजी गरिहेका छन्।
टिपर भने बुधबार बेलुकी खसेको ठाउँभन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको प्रहरीले जानकारी दिएको छ।
जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट वडा नं. १४ को छेपारेतर्फ जाँदै गरेको रा १ क १५०१ नम्बरको टिपर साउन ६ गते बेलुकी पौने ८ बजेतिर खसेको थियो।
रूकुम पश्चिमको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले टिपरमा चालकसहित तीन जना सवार रहेको यसअघि नै बताएका थिए। भेरी नदीमा पानीको बहाब बढेका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ।