रूकुम पूर्वमा जंगली च्याउ खाएपछि गम्भीर बिरामी भएका दुई जनाको मृत्यु भएको छ।
रुकुम पूर्वको भुमे गाउँपालिका – ५ सेराबाङकी ७ वर्षीया भाग्यरेखा विक र उनका भाइ ६ वर्षीय योजन विकको मृत्यु भएको हो।
रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार भाग्यरेखाको मंगलबार राति पौने १२ बजे दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको हो।
योजनको सोमबार नै मृत्यु भएको थियो। सल्यान अस्पतालमा उपचारकै क्रममा योजनको मृत्यु भएको थियो।
च्याउ खाँदा बिरामी परेका उनीहरुकी आमा ३५ वर्षीया रामकुमारी सुनार र दिदी ९ वर्षीया आयुषा विकको उपचार जारी छ।
रामकुमारीको दाङमा र आयुषाको रुकुम पश्चिम अस्पतालमा उपचार भइ रहेको डिएसपी यादवले जानकारी दिए।
बिरामी पर्नुभन्दा तीन दिन अगाडि रामकुमारीले जंगलबाट च्याउ टिपेर ल्याएकी थिइन्। च्याउ पकाएर खाएको तीन दिनपछि परिवारका चारै जना गम्भीर बिरामी परेका थिए।
त्यसपछि अस्पताल पुर्याइएकोमा रामकुमारीकी एउटा छोरा र एउटी छोरीको मृत्यु भएको डिएसपी यादवले जानकारी दिए।