धनगढी उपमहानगरपालिका–५ का जगदिश पन्त जानकी गाउँपालिका–४ मनुवाको जनता माध्यमिक विद्यालयका शिक्षक थिए।
घरदेखि पढाउनका लागि विद्यालय टाढा भएकोले उनी जानकी गाउँपालिकाकै दुर्गौली भन्ने ठाउँमा कोठा भाडा लिएर बसेका थिए।
उनले अंग्रेजीमा एमएड गरेका थिए।
उनकी ४० वर्षीया श्रीमती जयन्तीले पनि स्वास्थ्य विषयमा एमएड गरेकी थिइन्। तर बच्चा भएपछि श्रीमानसँग सल्लाह गरी उनी घर गृहस्थी सम्हाल्न र बच्चाको पालन पोषण गर्न जागिर खाइनन्।
दाजु महेन्द्र पन्तले घरमा पूजा लगाएको हुँदा साउन १ गते बिहीबार जगदिश घर आएका थिए। पूजा सकिवरि जगदिश शनिबार बिहान ११ बजे विद्यालयका लागि मोटरसाइकलमा घरबाट हिँडेका थिए।
घरबाट जाँदा जगदिशले जयन्तीलाई 'दुई/चार दिनमा आउँछु राम्रोसँग बस्नू' भन्दै सम्झाएका थिए। कोठामा पुगेपछि बेलुकी पौने ४ बजेतिर जयन्तीलाई फोन गरी आफू पुगेको समेत बताएका थिए।
यस्तै जयन्ती घरको काममा व्यस्त थिइन्। करिब साढे छ बजेतिर ‘टीका’ को श्रीमान हुँ भन्दै जयन्तीलाई एक जनाले फोन गरे।
जयन्तीका अनुसार ‘टीका’ पनि उनका श्रीमान जगदिशले पढाउने विद्यालयकी शिक्षिका हुन्। सुरूमा ती व्यक्तिले आफूहरू होटलमा सर (जगदिश) सँगै रहेको कुरा गरेका थिए।
ती व्यक्तिले एकाएक झर्किँदै जयन्तीलाई उनका श्रीमानले आफ्नी श्रीमती ‘टीका’ लाई नराम्रो म्यासेज गर्ने गरेको कुरा गरे।
जयन्तीले भनिन्– 'उहाँको मजाग गर्ने बानी छ, मन सफा छ। त्यो सबै रमाइलोका लागि मात्रै हो। त्यसलाई अन्यथा नसोच्नू।'
ती व्यक्तिसँग कुरा गर्दागर्दै जयन्तीले 'सर (जगदिश) हुनुहन्छ? भनेर सोधिन्।
श्रीमानलाई फोन दिन आग्रह गरिन्। ती व्यक्तिले जगदिशलाई फोन दिए।
जयन्तीले श्रीमानलाई सोधिन्– 'कहाँ छौ?'
जगदिशले प्रतिक्रिया दिए– 'यतै होटलमा छु।'
जयन्तीले फेरि भनिन्– 'तिनीहरूले केही गर्लान्। उनीहरूले मार्लान्। आफ्ना साथीहरू बोलाई हाल।'
त्यतिकैमा फोन काटियो ।
जयन्तीले श्रीमानकै मोबाइलमा सम्पर्क गरिन् तर सम्पर्क हुन सकेन।
त्यसपछि जयन्तीले एउटै विद्यालयमा पढाउने श्रीमानका साथी भूपेन्द्र चन्दलाई फोन गरिन्।
‘सर कहाँ छन्?’ भनेर सोधिन्।
चन्दले कतै गएको होला र अहिले नआएको जबाफ दिए।
त्यस्तै फोन लागेको हुँदा होटलमा खाना खान गएको हो कि भनेर अनुमान लगाए।
किनकी चन्द र जगदिश सँगसँगै होटलमा खाना खान जान्थे।
जयन्तीले जगदिश जाने होटलमा जान आग्रह गरिन्।
चन्दले एकैछिनमा जाने भन्दै फोन राखे।
त्यसको केहीबेरमै अघि फोन गर्ने ‘टीका’ का श्रीमान बताउने व्यक्तिले फेरि जयन्तीलाई फोन गरे।
यतिखेर उनी निकै आक्रोशित भए। फेरि पनि उनले आफ्नी श्रीमतीलाई नराम्रा र अश्लिल म्यासेज पठाएको भन्दै आक्रोश पोखे।
'जगदिशलाई खरानी बनाउँछु' भन्दै फोन काटेपछि जयन्तीको मन आत्तियो।
जयन्तीले जगदिशलाई सम्पर्क गर्न प्रयास गरिन्, तर उनको फोन लागेन।
‘जति फोन गर्दा पनि सरलाई फोन लागेन,’ जयन्तीले भनिन्।
जुन दिन जगदिश घर आएका थिए। त्यतिबेला पनि एउटै नम्बरबाट लगातार फोन आएको थियो। धेरै पटक फोन आएको देखेपछि त्यो नम्बर जयन्तीले हेरेकी थिइन्। त्यसैले त्यो नम्बर उनलाई यादै थियो।
त्यतिखेर जयन्तीले त्यही नम्बरमा सम्पर्क गरिन्। उनै ‘टीका म्याडम’ का श्रीमान बोले।
जयन्तीले श्रीमानलाई फोन दिन आग्रह गरिन्।
ती व्यक्तिले 'तिम्रो सरलाई अस्पताल लगिहाले' भन्ने जबाफ दिए।
किन? भनेर जयन्तीले सोध्दा जगदिशदले वान्ता गरेको उनले जबाफ दिए।
जयन्तीले ती व्यक्तिलाई तुरून्तै सोधिन्– ‘मेरो सरलाई विष खुवाएर त मारेनौ?’
ती व्यक्तिले थाहा छैन भन्दै फोन काटे।
जयन्तीले पछि थाहा पाइन्– अचेत हुँदै गर्दा जगदिशले साथी भूपेन्द्र चन्दलाई फोन गरी बोलाएका रहेछन्। चन्दले नै जगदिशलाई टीकापुर अस्पताल पुर्याएका थिए। त्यसपछि परिवारका सदस्य अस्पताल पुगेका थिए।
प्रहरीका अनुसार शनिबार बेलुकी ८ बजेतिर मदिरा सेवन गर्दागर्दै जगदिश लडेका थिए। उनको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको थियो।
जयन्तीले भने आफ्नो श्रीमानलाई विष खुवाएर मारेको बताउँछिन्। विष खुवाएर आफ्नो श्रीमानको हत्या गर्नेहरूको पहिचान गरी कारबाही गर्नुपर्ने उनको माग छ।
जयन्तीका अनुसार जगदिशले १६ वर्षदेखि राहत कोटामा पढाउँदै आएका थिए।
‘मेरो सरको एकदमै मजाग गर्ने बानी थियो, उनी एकदमै फ्रेन्ड्ली थिए,’ जयन्तीले भनिन्, ‘मेरै सामुन्ने पनि अरूलाई कति मजाग गर्दै म्यासेज पठाउँथे। मलाई बानी थाहा थियो त्यसैले कहिल्यै केही भनिनँ।’
जगदिशले अघिपछि मदिरा सेवन गरेता पनि त्यो दिन भने नगरेको दाबी गर्छिन्।
त्यो दिन जगदिशले चिसो मात्रै खाएको सुनेको उनी बताउँछिन्। त्यसैमा उनीहरूले झुक्काएर विष मिलाएर आफ्ना श्रीमानलाई मारेको उनको दाबी छ।
‘सरले त्यो दिन मदिरा खाएनन् भन्ने सुनेकी छु। चिसो खानुभएको थियो रे,’ उनले भनिन्, ‘जे खाएको भए पनि उनीहरूले योजनाबद्ध रूपमा विष मिसाएर मेरा सरलाई मारेको प्रष्ट भइसकेको छ।’
यस घटनामा प्रहरीले टीकापुर नगरपालिका– १ का ३६ वर्षीय लोकेन्द्र रावल, सोही वडाको चारकठ्ठाका ३२ वर्षीय वीरेन्द्र हमाल र जानकी गाउँपालिका– ९ अमरावतीका ३४ वर्षीय सुनिल रावललाई पक्राउ गरिसकेको छ।
आइतबार अदालतबाट म्याद थप भई बयान लिने तथा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जगदिशसँगै एउटै विद्यालयमा पढाउने ‘टीका’ का श्रीमान टीकापुर नगरपालिका– १ का ३६ वर्षीय लोकेन्द्र रावल हुन्।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीन बुढाथोकीले अनुसन्धानकै क्रममा रहेको हुँदा अहिलै धेरै कुरा मन्न नमिल्ने बताए।
पोष्टमर्टमको रिपोर्ट आइनसकेको तथा भिसेरा परीक्षणका लागि बाहिर पठाउने तयारी गरिएको उनले बताए।
प्रहरीले उनीहरू बसेको होटलको बाहिर विषादीको एउटा बोतल फेला पारेको थियो।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार मृतक शिक्षकको मृत्यु विषादी सेवनबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।
‘मृतकको मुखबाट फिँज निस्केको अवस्थाले विष खाएर शिक्षकको मृत्यु भएको आँकलन गरिएको हो,’ डिएसपी सिंहले भने, ‘त्यो विष शिक्षक पन्तले आफै खाएका थिए कि, कसैले उनको खानामा झुक्याएर मिलाइदिएको थियो भन्ने अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।’
यो पनिः
साथीसँग बसेर मदिरा पिउँदा पिउँदै ढलेका शिक्षकको मृत्यु भएको घटनामा तीन जना पक्राउ