दर्ता प्रक्रिया पूरा नगरी लामो समयदेखि सञ्चालनमा रहेका बुटवलका आइभिएफ (प्रजनन उपचार विधि) सेन्टरहरूलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गरिदिएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले बुटवलमा लामो समयदेखि सञ्चालनमा रहेका तीनवटा आइभिएफ सेन्टरलाई एक/एक लाख रुपैयाँ जरिवाना गराएको छ।
एउटा आइभिएफ सेन्टरमा त अनुगमन टोलीले ताला नै लगाइदिएको छ।
संघीय स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि बुटवलमा लामो समयदेखि दर्ता नगरी सञ्चालनमा आएको सूचनापछि जिल्ला अनुगमन समितिले आइतबार अनुगमन गरेको थियो।
अनुगमन समितिले बुटवल उपमहानगरपालिका वडा न ९ मिलन चोकमा रहेको वरदान आइभिएफ सेन्टर प्रालि, बुटवल-६ सुख्खानगर श्रवण पथमा रहेको वात्सल्य बुटवल क्लिनिक प्रालि र बुटवल १० राजमार्ग चौराहास्थित रहेको प्रनाभी आइभिएफ सेन्टर अनुमति नलिई सञ्चालन हुँदै आएको पाइएपछि एक/एक लाख रुपैयाँ जरिवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए। रानाका अनुसार प्रनाभी आइभिएफ सेन्टरमा अनुमति नलिँदा सम्म ताला लगाइएको छ।
वरदान आइभिएफले दर्ताको लागि २ वर्ष पहिले निवेदन दिए पनि मन्त्रालयको ढिलाइका कारण दर्ता हुन नसकेको २१ जोडी दम्पती लामो समयदेखि उपचार प्रक्रियामा रहेको र आइभिएफ सेन्टरमा तत्काल ताला लगाउँदा सेवाग्राहीको स्वास्थ्यमा समेत क्षति हुने भएकोले ४५ दिनभित्र सञ्चालन अनुमति लिने गरी अहिलेलाई बन्द गरिएको छैन।
सहायक प्रमुख जिल्ला अधिकारी रानाले वरदानलाई ४५ दिनभित्र सञ्चालन अनुमति नलिए बन्द गर्ने चेतावनी दिइएको बताए।
त्यस्तै वात्सल्य आइभिएफ ले स्थानीय पालिकाबाट सामान्य परामर्शको मात्र दर्ता र अनुमति लिएकोले एक लाख रुपैयाँ जरिवाना गरिएको छ। वात्सल्यलाई पनि संघीय स्वास्थ्य मन्त्रालयबाट अनुमति नलिँदासम्म आइभिएफ सम्बन्धी काम नगर्न चेतावनी दिइएको र आइभिएफ सम्बन्धी काम गरेको पाइएमा तालाबन्दी गरी थप कानुनी कारबाही गरिने चेतावनी दिइएको सहायक प्रजिअ रानाले बताए।
तिलोत्तमा नगरपालिका जानकी नगरमा रहेको विपासना फर्टिलिटी सेन्टरले भने अनुमति लिएको पाइएको उनले बताए।
प्राकृतिक रूपमा सन्तान नभएका दम्पतीहरूलाई कृत्रिम प्रक्रियाबाट सन्तान प्राप्तिको लागि आइभिएफ सेन्टरहरूले ठूलो सघाउ पुर्याउँदै आएका छन्। महिलाको डिम्बाशय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरेर बनेको भ्रूणलाई महिलाको पाठेघरभित्र राखेर बच्चा बसाल्ने प्रक्रियालाई आइभिएफ भनिन्छ।
उपचार पद्धतिमा संवेदनशील मानिएको र प्राकृतिक तरिकाबाट सन्तान नभएका दम्पत्तिहरूको भरोसा बनिरहेका आइभिएफ सेन्टरहरू भने दर्ता नगरी सञ्चालन भइरहेको पाइएको हो।
अनुगमनको क्रममा तिलोत्तमा ड्राइभर टोलमा रहेको श्रीकृष्ण आई केयर सेन्टर एन्ड अप्टीकल्समा पनि ताला लगाइएको छ।
उक्त अप्टिकल्समा तिलोत्तमा नगरपालिकामा दर्ता गरेको कागजबाहेक अन्य दर्ता कागजात फेला नपरेपछि बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले बताए।
यसअघि माछा मासु, खाद्य, पेय लगायत दैनिक उपभोग्य वस्तुका उद्योग तथा पसलहरूमा अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पछिल्लो समय अस्पताल, क्लिनिक, फार्मेसी, ल्याब, आइभिएफ सेन्टर लगायतमा अनुगमन सुरु गरेको हो।