सुर्खेतमा पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
वीरेन्द्रनगर नगरपालिका-८ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
वीरेन्द्रनगरको कालिन्चोक एरियामा ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। घिमिरे र शाहीमाथि शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको डिएसपी बुढथापाले बताए।
डिएसपी बुढथापाका अनुसार उनीहरूको साथबाट १ हजार ४२६ लागुऔषधको ट्याबलेट बरामद गरिएको थियो। थप अनुसन्धानमा उनीहरू बस्ने कोठाबाट चाइनिज पेस्तोल एक थान, पेस्तोलमा लाग्ने म्यागजिन २ थान, गोली राउण्ड १२, बिभिन्न आकारका खुकुरी ४ थान,चक्कु २ थान बरामद गरिएको छ।
साथै वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार (सिङ्ग) १ थान उनीहरूको कोठाबाट बरामद गरिएको डिएसपी बुढथापाले जानकारी दिए।