पाकिस्तान भीषण वर्षापछि चौबीस घन्टामै ६३ जनाको मृत्यु भएको छ।
पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको बिपत्तीमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ।
विपदका घटनामा परी २९० जना घाइते भएको बिबिसीले जनाएको छ।
राजधानी इस्लामावाद नजिकैको सहर रावलपिण्डीमा मानिसहरू सुरक्षित रहून् भनेर बिहीबार सार्वजनिक बिदा समेत दिइएको थियो। सहरभित्रको नदी खतरा तहमा पुगेपछि किनाराका बासिन्दालाई दिउँसै सुरक्षित स्थानमा सारिएको थियो।
पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले प्रान्तभरि आपतकाल घोषणा गरेकी छन्।
पाकिस्तानभर मनसुन सुरु भएको जुन अन्त्यदेखि अहिलेसम्म झण्डै १८० जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश बालबालिका छन्।
पञ्जाबका विभिन्न क्षेत्रमा बाढीले एक्सप्रेस-वे बन्द गराएका छन् भने दर्जनौं उडानहरू रद्द वा ढिला भएका छन्।
चकवाल सहरमा २४ घण्टामै ४०० मिमि वर्षा भएपछि स्थिति गम्भीर भएको छ। उद्धारकर्ताहरू डुंगा र हेलिकप्टरमार्फत बाढीमा फसेका मानिसहरूको खोजी गर्दैछन्।
करिब २५ करोड जनसंख्या भएको पाकिस्तान जलवायु परिवर्तनबाट विश्वमै सबैभन्दा धेरै प्रभावित हुने देशहरूमध्ये पर्दछ।
सन् २०२२ मा आएको बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो। त्यतिबेला १ हजार ७०० जनाको मृत्यु भएको थियो भने३० अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको रिपोर्ट छ।