लागुऔषध नियन्त्रण ब्युरोले एक जना महिलालाई लागुऔषध ट्रामाडोल र गाँजासहित पक्राउ गरेको छ।
लागुऔषधको रूपमा प्रयोग हुने ट्रामाडोल काठमाडौंको बालाजुस्थित एक कोठाबाट बिहीबार ठूलो संख्यामा बरामद भएको हो।
प्रहरीले मोरङको बेलबारी-३ घर भई बालाजु बस्ने ३२ वर्षीया निकु राईलाई पक्राउ गरेको ब्युरोका प्रमुख कृष्ण कोइरालाले जानकारी दिए।
उनले भण्डार गरेको कोठामा हेर्दा प्रहरीले चार वटा सुटकेश फेला पारेको थियो।
उनको कोठामा लागुऔषध हुने सूचनापछि खटिएको टोलीले नयाँ खालका सुटकेश देखेपछि त्यसलाई खोलेर हेरेका थिए।
‘ती महिलाले नयाँ सुटकेशहरू ओसारपसार गर्नका लागि राखेकी रहेछन्। नयाँ सुटकेश खास्सै जाँच पनि हुन्न भन्ने हिसाबले राखेको हुनसक्छ,’ एसएसपी कोइरालाले भने, ‘थप विवरण अनुसन्धानबाट खुल्छ।’
निकुका सुटकेश भित्रबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल फेला परेका थिए। त्यस्तै १२ किलो ५०० ग्राम गाँजा पनि बरामद भएको हो।
प्रहरीका अनुसार उनले लागुऔषध बिक्री वितरण गर्न छुट्टै डेरा लिएकी थिइन्। उनी भने अर्कै डेरामा बस्थिन्।
यस्तै ब्युरोले असार १३ गते दुई जनालाई बल्खुबाट लागुऔषधसहित पक्राउ गरेको थियो।
कुंगा तामाङ र पदमबहादुर महतेको कोठाबाट बुप्रेनोर्फिन १० हजार ३६७ एम्पुल, डाइजेपाम १० हजार ३६७ एम्पुल र फेनार्गन १० हजार ३६७ एम्पुल बरामद गरेको थियो।
उनीहरूमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान अघि बढाएको छ।