अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरका मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई २४ लाख ५० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
कार्यालय प्रमुख ५४ वर्षीया कुमार आचार्य र कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ।
उनीहरूलाई मंगलबार कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।
अख्तियार प्रवक्ता राजेन्द्र पौडेलले भने टोली नियन्त्रणमा लिन गएको र थप जानकारी पाइनसकेको बताए।
आचार्य उदयपुर बेलका नगरपालिका-४ हरीपुर घर भई कागेश्वरी मनोहरा नगरपालिका-७ बस्छन्। भने राउत चाँगुनारायण नगरपालिका-९ घर भई मध्यपुर ठिमी नगरपालिका-१ मा बस्छन्।
उनीहरूले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी सो जग्गाको मोहीको नाममा जग्गा धनी प्रमाणपत्र बनाउने प्रयोजनाको लागि घुस लिएको आरोप छ।