दार्चुलामा तुइन चुँडिँदा महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।
व्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पार गर्न तुइन चढेका स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।
मंगलबार दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा बुढाथोकी तुइन चुँडिँदा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) छत्रबहादुर रावतले जानकारी दिए।
'साढे ३ बजेसम्म बुढाथोकी फेला परेका छैनन्,' इन्स्पेक्टर रावतले भने, 'हामीले सबै टिमलाई जानकारी गराएका छौं। खोज्ने काम जारी छ।'
नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत् महाकाली नदी पार गर्न गएका थिए।
नारायणभन्दा अघि जितुले तुइनमार्फत् महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए। त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिँदा बेपत्ता भएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्न पाएनन्। बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए।