बाँकेको कोहलपुरमा रहेको जनगर्जन नेटवर्क प्रालिको कार्यकक्षबाट नक्कली नोट र अफिम बरामद भएको छ।
कोहलपुर नगरपालिका–११ नयाँबस्तीमा रहेको कार्यालयबाट मंगलबार बिहान प्रहरीले ५१ वटा एक हजारका नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले सेतोपाटीलाई बताइन्।
प्रहरीले उक्त कार्यालयबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट नरहरिनाथ गाउँपालिका-४ का ४५ वर्षीय मानबहादुर साकार र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-१० की सपना पुन छन्।
साकार उक्त कार्यालयका सञ्चालक हुन् भने पुन त्यहाँ काम गर्छन्। उनीहरूले प्रहरीलाई आफूहरू पत्रकार भएको बताएका छन्।
बाँकेका डिएसपी दीपक पातलीका अनुसार मानबहादुरलाई पक्राउ पछि सुर्खेत लगिएको छ।
मानबहादुरलाई खोजी गर्दै सुर्खेतको टोली बाँकेमा पुगेको थियो।
सुर्खेत प्रहरीले नक्कली नोट र लागुऔषधसम्बन्धी कसुरमा केही व्यक्ति पक्राउ गरी अनुसन्धान गरिरहेको थियो। अनुसन्धानकै क्रममा ती व्यक्तिहरूले मानबहादुरको नाम बताएपछि प्रहरी बाँके पुगेको हो।
सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले यसबारे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताए।