प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद राजेन्द्र लिङ्देनले सरकारका मन्त्री एकपछि अर्को काण्डमा मुछिएको भएपनि सरकार चुप लागेर बसेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले पछिल्लो समय सार्वजनिक भएको लेनदेनको अर्को घटनाले सरकारको नैतिकता र सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न उठेको बताएका हुन्।
'यदी नैतिकता छ भनेर सुशासन प्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्थ्यो। मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने हो कि होइन?,' उनले प्रश्न गरे।
उनले राजावादी र गणतन्त्रविरोधीलाई तह लगायौं भन्ने डंका पिटेर जनतालाई भ्रम छरेको छट्टु स्यालको कथाजस्तो रहेको बताए।
'चील आयो चील आयो भन्ने अनि तल चल्ला टिप्ने। जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषदमा लगेर सरकार दुई ठूला ठूला पार्टी मिलेर देश लुटेर बस्ने जनता टुलटुल हेर्ने यो कुरा कदापी हुँदैन,' उनले भने।
यसबारेमा आफ्नो पार्टीले संसदबाट विरोध गरिराखेका र आवश्यक परे सडकबाट पनि यसको प्रतिवाद गरिने बताए।
यस विषयमा सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
'भिजिट भिसा प्रकरणमा दुइटा राजनीतिक दलहरूले विरोध गरिराख्नुभएको छ। जबरजस्ती संसद चलाइराख्नु केबल सरकारको अकर्मण्यता र सरकारको उदासिनताको कुरा मात्रै होइन। तपाईंको आफ्नो कार्यकालको सबैभन्दा कालो समयका रूपमा पनि यो उल्लेख रहनेछ,' उनले भने।
त्यसकारण सभामुखले पहल गर्नुपर्ने, प्रयास गर्नुपर्ने उनले बताए।
'छलफल गर्नुपर्यो, प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयत्न गर्नुपर्यो,' उनले भने।