स्कुटर दुर्घटनामा परेर बुटवलमा एक जनाको मृत्यु भएको छ।
पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ४ घर भई हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पूर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो।
वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेतका अनुसार मिर्गौलाका बिरामी श्रेष्ठ डायलासिस गराउन अस्पताल जाने क्रममा सोमबार बिहानै साढे ५ बजेतिर दुर्घटनामा परेका थिए।
लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ बुटवल १० कालिकानगरस्थित सर्भिस लेनमा रोकिराखेको ना. २ ह ७५३ नम्बरको अटो रिक्सासँग ठक्कर खाएर दुर्घटनामा परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
दुर्घटना भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।
शव पोस्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठ पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैका सिसिटिभी फुटेज हेर्दा अटो रिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो।
त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका वडा नम्बर २ मैना बगरमा लुकाएको अवस्थामा अटो रिक्सा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए। अटोरिक्साको चालक भने फरार छन्।
चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।