अमेरिकामा एउटा चर्चमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ।
आइतबार स्थानीय समयअनुसार बिहान ११:३५ बजे केन्टकी राज्यको लेक्सिङ्टन सहरस्थित रिचमण्ड रोड ब्याप्टिस्ट चर्चमा एक संदिग्धले अन्धाधुन्ध गोली चलाउँदा दुई चर्चमा रहेका दुई महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३४ वर्षीया क्रिस्टिना कोम्ब्स र ७२ वर्षीया बेभरली गम छिन्। घटनामा दुई पुरूष घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।
चर्चमा अन्धाधुन्ध गोली चलेको घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले संदिग्धमाथि गोली चलाएको थियो। तीन प्रहरीले उनीमाथि गोली चलाएको भनेर सिएनएनले लेखेको छ।
प्रहरीको गोली लागेर संदिग्ध पुरूषको घटनास्थलमै मृत्यु भएको थियो। उनको पहिचान खुले पनि प्रहरीले सार्वजनिक गरेको छैन। संदिग्धको परिवारलाई जानकारी गराउन बाँकी रहेकाले नाम नखुलाइएको भनिएको छ।
ती व्यक्तिको चर्चकै केही मानिसहरूसँग पनि चिनजान थियो भनिएको छ।
सिएनएनका अनुसार चर्चमा पुगेर अन्धाधुन्ध गोली चलाउनुअघि ती संदिग्धले ब्लु ग्रास एयरपोर्ट नजिक एक जना प्रहरीमाथि गोली चलाएका थिए।
त्यहाँ चेकजाँच गरिरहेका प्रहरीले गाडी रोकेपछि ती संदिग्धले प्रहरीमाथि नै गोली चलाएका थिए। लाइसेन्स प्लेट स्क्यानरले सतर्कता सूचना दिएपछि त्यहाँ खटिएका प्रहरीले संदिग्धको गाडी रोकेका थिए।
त्यसपछि ती संदिग्धले प्रहरीमाथि गोली चलाएर अर्कै गाडी कब्जा गरी त्यहाँबाट भागेर १५ माइल दुरीमा रहेको चर्चमा पुगेर गोली चलाएका थिए। चर्चमा त्यतिबेला साप्ताहिक प्रवचन भइरहेको थियो।
विमानस्थल नजिकै गोली चलेपछि केही समय हवाइ उडान बन्द गरिएका थिए। संदिग्ध मारिएपछि विमानस्थल सामान्य रूपमा सञ्चालन भएको सिएनएनले जनाएको छ।
गोली प्रहार भएका प्रहरीको स्वास्थ्य स्थिर रहेको भनिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।