पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले शनिबार साँझ फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बाराको कलैया उपमहानगरपालिका–१ बस्ने १८ वर्षीय प्रणय गुप्ता सो खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो बेपत्ता भएका थिए।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा गुप्ताको शव सोही खोलास्थित झरनाको खोँचमा फेला पारेको उनले बताए।
मृत्यु भएका गुप्तासहित अन्य ७ जना व्यक्तिहरू घुम्नका लागि काठमाडौंबाट ४ वटा मोटरसाइकलमा शनिबार बिहान सो ठाउँतर्फ गएका थिए।