गल्छि-सितापाइला सडक हुँदै काठमाडौं आइरहेको कारमा अचानक आगो लागेको छ।
शनिबार बिहान १० बजे काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुंगास्थित खड्का मोडमा बा.प्र ०१-०३१ च ०९६६ नम्बरको कारमा अकास्मात आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अकास्मात आगो लागेको उक्त कार जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
कारमा लागेको आगो दमकलको सहायताले बिहान ११:५० बजे नियन्त्रणमा लिइएको थियो।
कार काठमाडौं महानगरपालिका -२ लाजिम्पाटका ५७ वर्षीय सुरेश श्रेष्ठले चलाएका थिए। उनीसहित थप एक जना कारमा सवार रहेको र दुवैजना सकुशल रहेको एसपी बोहराले जानकारी दिए।
प्रहरीले क्रेनको सहायताले कार सडकबाट हटाएको छ।