पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्रमण हो। पाठेघरको मुखको क्यान्सर भएको पत्ता लगाउन यसको स्क्रिनिङ गर्नुपर्छ।
भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड (भिआइए) परीक्षण, प्याम स्मीयर परीक्षण, एचपिभी डिएनए लगायतका परीक्षणबाट स्क्रिनिङ गर्न सकिन्छ।
हिजोआज सामाजिक सञ्जालका कारण महिलाहरू धेरै जानकार हुन थालेका छन्। मलाई यस्तो लक्षण देखियो, यस्तो शंका लागिरहेको छ भनेर बिरामी आउन थालेका छन्। क्यान्सरको स्क्रिनिङ नगरे पनि कतिपय संकेतहरू देखिन्छन्।
पाठेघरको मुखको क्यान्सरका केही प्रमुख लक्षणहरू
-गन्हाउने पानी बग्ने
-शरीरिक सम्पर्क राख्दा दुख्ने, रगत आउने
-पाठेघरबाट मासु आएको जस्तो हुने
पाठेघरको मुखको क्यान्सरका जोखिम कस्तालाई हुन्छ भनेर केही हदसम्म अनुमान गर्न सकिन्छ। जस्तो: धेरै सन्तान जन्माउने महिलाहरू, खानपिन राम्रो नभएका अनि सरसफाइमा ध्यान नपुगेका महिलाहरूलाई यसको जोखिम हुन्छ। त्यस्तै धेरैसँग शारीरिक सम्पर्क राख्ने महिला र धेरैसँग शारीरिक सम्पर्क राख्ने पुरूषका कारण पनि उसको श्रीमतीलाई जोखिम हुन सक्छ।
पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगिन स्क्रिनिङ गर्न सकिन्छ। शारीरिक सम्पर्क गरेको २ वर्ष भएदेखि ६५ वर्षसम्मकाले स्क्रिनिङ गर्न सक्छन्।
पाठेघरको मुखको लागि प्याप स्मेयर, एलबिसी टेस्ट, भिआइए, कल्कोस्कोपी, एचपिभी र डिएनए टेस्टहरूलाई स्क्रिनिङ टेस्टको रूपमा लिइन्छ।
सहरका ठूला अस्पतालमा सबै खालका सुविधा भए पनि गाउँमा नहुन सक्छ। त्यसैले गाउँमा भिआइए परीक्षण उपलब्ध छ। यो भनेको के हो भने पाठेघरको मुखमा एउटा औषधि राखिन्छ। त्यसमा केही नराम्रो रहेछ भने सेतो भएर आउँछ। त्यो सेतो भएको ठाउँबाट हामीले बायस्पी लिन्छौं।सेतो देखिनसाथ ठूला अस्पतालमा रिफर गरिन्छ।
क्यान्सर देखिएपछि यो कुन चरणमा छ भन्ने आधारमा यसको उपचार गरिन्छ। कहिले रेडियो थेरापी, किमो थेरापीले हुन्छ भने कतिपय अवस्थामा पाठेघरको मुख फाल्नुपर्छ अनि कहिले पाठेघर नै फाल्नु पर्ने हुन्छ।
पाठेघरको मुख हेर्नसाथ क्यान्सर छ कि छैन थाहा पाउन सकिन्छ।
पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने भनेको जनचेतना नै हो। शारीरिक सम्पर्क गर्दा कण्डम अनिवार्य गर्न समेत हामी सुझाव दिन्छौं।
यसको जोखिम कम गर्ने भनेको एचपिभी भ्याक्सिन हो।
एचपिभी भ्याक्सिन ९ देखि १४ वर्षसम्मको उमेर समूहका किशोरी तथा बालिकालाई दिइन्छ। उनीहरूलाई धेरै प्रभावकारी पनि हुन्छ। शारीरिक सम्पर्क नहुँदै लगाइयो भने यो खोप प्रभावकारी हुने पाइएको छ।
शारीरिक सम्पर्क भएकाले पनि लगायो भने राम्रो हुन्छ भन्ने छ। एचपिभी भाइरसको प्रवेश शारीरिक सम्पर्क भएपछि हुने भएकाले शारीरिक सम्पर्क नहुँदै खोप लगाइयो भने त्यसको रोकथाम हुन्छ। ९ देखि १४ वर्ष उमेर समूहकालाई एक महिनाको अन्तरालमा २ वटा डोज दिए पुग्छ।जसको शारीरिक सम्पर्क भइसकेको छ उनीहरूले तीन डोज लगाए पुग्छ। शारीरिक सम्पर्क भइसकेपछि लगाउनेहरूलाई पूर्ण रूपमा क्यान्सर रोकिन्छ भनेर भन्न सकिँदैन।
(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.भागिरथी कायस्थ भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छिन्।)