धनुषामा ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था टोलमा बस्ने ४८ वर्षीय बेचन महासेठ पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार जनकनन्दनी गाउँपालिका-४ बाट पक्राउ गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका-१५ का ६५ वर्षीया ससुरा बासुदेवप्रसाद साहको हत्या गरेर एक सातादेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी नरहरी रेग्मीले जानकारी दिए।
उनका अनुसार असार १८ गते बिहान साढे ९ बजेको समयमा ससुरा साहमाथि पारिवारिक रिसइबीका कारण चक्कु प्रहार गरेर भागेका थिए। त्यसपछि बासुदेवलाई उपचारका लागि प्रादेश अस्पताल धनुषा लगिएको थियो।
अस्पताल लगेको एक घन्टामै बासुदेवलाई डाक्टरले मृत घोषित गरिदिएको थियो। उनीमाथि पेटमा ४/५ पटक चक्कु प्रहार भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।