दाङको घोराही कारगारमा पुर्पक्षका लागि ६ दिन पहिले कारागार चलान गरिएका एक युवकको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–२ का ३३ वर्षीय जीवराज चौधरीको गएराति उपचारका क्रममा मृत्यु भएको हो।
घोराही कारागारका जेलर लक्ष्मणसिंह राठोरका अनुसार चौधरी बलात्कार मुद्दामा पुर्पक्षका लागि ६ दिन पहिले कारागार चलान गरिएका थिए।
त्यसपूर्व चौधरीलाई थप २५ दिन प्रहरी हिरासतमा राखिएको थियो।
कारागार चलान गर्दाको अवस्थामा चौधरीको स्वास्थ्य स्थिति सामान्य रहे पनि बुधबार राति साढे ९ बजेतिर उनी एकाएक बिरामी परेका थिए।
उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।
उपचारका क्रममा साढे १० बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।