अभिभावकसँग सुतिरहेकी मोरङ धनपालथान गाउँपालिका-६ की ५ वर्षीया नाबालिका शनिबार बिहानै एकाएक गायब भइन्।
बिहान ३ बजेसम्म आफ्नै अंगालोमा निदाइरहेकी छोरी बिछ्यौनाबाटै बेपत्ता भएपछि बुबाआमा अत्तालिए।
आत्तिएका बुबाआमा हल्ला गर्न थाले। नाबालिकाको खोजी सुरु भयो। उनी कतै फेला नपरेपछि बिहान ५ बजेतिर प्रहरीलाई खबर गरे।
प्रहरी र स्थानीयबासीले केहीबेरपछि ५ वर्षीया नाबालिकालाई घरभन्दा झण्डै सय मिटर टाढा दुरीमा फेला पारे। तर, खेतमा भेटिएकी आत्तिका सरदार मृत भेटिइन्। शरीरका विभिन्न भागमा चोटैचोट भएको अवस्थामा आत्तिका मृत फेला परेकी हुन्।
‘बिहान ३ बजेसम्म बुबाआमासँग सुतिरहेकी बालिका गायब भएकी रहेछिन्,’ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भने ‘बिहान शव फेला पर्यो। उनको हत्या भएको देखिन्छ।’
आत्तिका स्थानीय अक्षय सरदारकी छोरी हुन्। बबिया टोलका अक्षयकी छोरी उनको कसले र किन हत्या गर्यो खुल्न सकेको छैन। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ।
नाबालिकाको शव पोष्टमर्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। प्रहरीका अनुसार बालिकाको अनुहार घाँटीलगायत शरीरका विभिन्न भागमा चोट छ।