एक युवकमाथि तीन जनाको समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
धारिलो हतियारसहित मोटरसाइकलमा आएका तीन जना युवाले एक जनालाई लखेटी लखेटी आक्रमण गरेको भिडिओ शुक्रबारदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
भिडिओमा एक जना युवक भागिरहेको अवस्थामा उनको पछाडि तीन जना चढेको मोटरसाइकल देखिन्छ। मोटरसाइकलको पछाडि सवार युवकले हातमा धारिलो हतियार नचाउँदै गरेको देखिन्छ।
केही बेरमा भागिरहेका ती युवक केही बेरमा सोही बाटो हुँदै फर्किएको देखिन्छ।
फर्किँदा उनले लगाएको सेतो टिसर्टको पछाडिपट्टिको भागमा रातो धब्बा देखिएको छ। उनको मुखबाट पनि रगत बगिरहेको भिडिओमा देखिन्छ।
बाटोमा हिँडिरहेका एक जना पुरूषले युवकलाई जोगाउन खोजिएको देखिन्छ।
तर समूहमा आएकाहरूले केही अगाडि मोटरसाइकल रोक्छन् र एक जनाले भागिरहेका ती युवकमाथि हेल्मेट प्रहार गर्छन्। युवक फेरि भाग्छन् आक्रमण गर्ने व्यक्ति उनको पछि लाग्छ।
केही पर पुगेपछि ती व्यक्ति फर्कन्छन् । मोटरसाइकलमा उनका दुई जना साथीहरु हतियार लिएर पर्खिरहेका हुन्छन्। फर्किएपछि तीनै जना मोटरसाइकलमा चढेर त्यहाँबाट फरार हुन्छन्।
सामाजिक सञ्जालमा भाइरल भएको यो भिडिओ धरानको हो।
हामीले यो घटनाबारे सुनसरी प्रहरीसँग कुरा गरेका छौं।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले भिडिओमा देखिएको घटनास्थल धरान उपमहानगरपालिका-१० को वडाकार्यालय नजिकैको सडक भएको बताए।
उनका अनुसार घटना असार १२ गते साँझतिरको हो।
सामाजिक सञ्जालमा सिसीटिभीको भिडिओ फुटेज सार्वजनिक भएलगत्तै प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।
डिएसपी खतिवडाले आक्रमण गर्ने युवकहरु अहिले फरार रहेको र खोजी भइरहेको बताए।
आक्रमण गर्ने र आक्रमणमा पर्ने चिनजानकै युवकहरू भएको र उनीहरू लागुऔषध सेवन गर्थे भन्ने कुरा पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उनकाअनुसार आक्रमणबाट घाइते भएका युवक उपचारपश्चात डिस्चार्ज भइसकेका छन्।
‘आक्रमण गर्ने व्यक्तिहरूको खोजी गरिरहेका छौं। घटनबारे पनि अनुसन्धान भइरहेको छ। अहिले सबै खुलेको छैन,’ डिएसपी खतिवडाले भने।