नेपाल र भारतका पत्रकारहरूलाई जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण (डिआरआर) सम्बन्धी समाचार लेखनमा सक्षम बनाउन चारदिने कार्यशाला आयोजना गरिएको छ।
युनेस्कोसँगको सहकार्यमा युथ इनोभेसन ल्याबले मंगलबारदेखि शुक्रबारसम्म काठमाडौंमा आयोजना गरेको कार्यशालामा हिमालय क्षेत्रका साझा जलवायु जोखिमहरू; हिमताल विस्फोट, प्राकृतिक स्रोतको अति दोहन र चरम मौसमी घटनामा रिपोर्टिङ गर्ने तौरतरिकाबारे जानकारी दिइको थियो।
विपदबारे रिपोर्टिङ गर्ने नेपालका १५ र भारतका पाँच पत्रकारहरूलाई डिजिटल सीप, कृत्रिम बुद्धिमत्ता (एआई), तथ्य जाँच र सीमापार सहकार्यका रणनीतिहरू विभिन्न प्रस्तुतीकरण दिइएको थियो।
कार्यशालामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दीनेश प्रसाद भट्टले नेपाल र भारतबीच सहकार्यले नयाँ–मुद्दा उठान र सीमापार सहकार्यलाई अझ गहिरो बनाउने उल्लेख गरेका थिए।
यूनेस्को नेपालका प्रतिनिधि जाको डु ट्वाले पत्रकारहरूको जलवायु संरक्षणमा महत्त्वपूर्ण भूमिका रहेको औंल्याएका थिए। युथ इनोभेसन ल्याबका सन्तोष क्षेत्रीले नेपाल र भारतका साझा नदी तथा पर्यावरणको महत्त्व र समयमै सूचना आदानप्रदानको खाँचो औंल्याए। कार्यशालाले यस्ता विषयहरूको उठान र मूल प्रवाहीकरणमा योगदान पुर्याउने पनि बताए।
त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. वसन्त अधिकारीले मनसुनजन्य घटना र हिमाली क्षेत्रमा देखा पर्दै गरेका नयाँनयाँ चुनौतीबारे पत्रकारहरू सुसूचित हुनुपर्ने, विज्ञानसँग सम्बन्धित विषयहरू भएकाले आम मानिसहरूले बुझ्ने भाषामा समस्याको उठान र प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने पनि बताए।
इसिमोडकी वरिष्ठ पानी तथा अनुकूलन विशेषज्ञ नीरा श्रेष्ठ प्रधानले हिमालयका सीमापारका नयाँ जोखिमबारे जानकारी दिएकी थिइन्। हिन्दकुश क्षेत्रमा देखिएको तापमानवृद्धि र हिमाली क्षेत्रमा देखिएको नयाँ प्रकारका विचलनले चुनौती थपिएको बताएकी थिइन्।
विपद्का बेलामा गलत सूचना फैलने र तथ्य जाँच चुनौतीपूर्ण भएको भन्दै त्यसबारे पनि पत्रकारहरूलाई अभिमूखीकरण गरिएको थियो।
कार्यशालामा युथ इनोभेसन ल्याबका सन्तोष क्षेत्री, पत्रकार कनकमणि दीक्षित लगायतले पनि प्रस्तुतीकरण दिएका थिए। दीक्षितले पाठककेन्द्रित र कूटनीतिक पत्रकारिताबारे अभिमुखीकरण गरेका थिए।