१३६ वर्ष लामो इतिहास बोकेको वीर अस्पताललाई नेपालको दूरदराजका जनताले विश्वास गर्छन्। अस्पताल भन्नसाथ वीर अस्पताल सम्झिने जनसंख्या ठूलो छ। गरिबदेखि हरेक तह तप्काका जनताले विगतदेखि विश्वास गर्दै आएका छन्। यो नै अस्पतालको सम्पत्ति हो।
आइतबार अलि धेरै बिरामी हुन्छन् तर औसतमा दैनिक ३ हजारको हाराहारीमा बिरामी हुन्छन्। कतिपय बिरामीलाई २/३ जनाले समेत लिएर आउँछन्। जसले गर्दा अस्पतालमा भीड हुने नै भयो। हरेक दिन ७७ जिल्लाकै बिरामी यो अस्पतालमा आइपुग्छन्।
एउटा त वीर अस्पतालप्रतिको आस्था अनि विश्वासले बिरामी आउँछन् भने अर्को यो रिफरल अस्पताल पनि हो। अनि अन्यत्र भन्दा राम्रो र सस्तो उपचार हुन्छ भन्ने विश्वास जनतालाई छ।
यो अस्पताललाई रिफरल अस्पताल मात्र बनाउन सके यसको भीड केही कम हुन सक्थ्यो। तर यहाँ रूघाखोकी लाग्ने, घाँटी दुख्नेदेखि जटिल समस्या भएका बिरामी आउँछन्। यद्यपि इमर्जेन्सीमा परेका बिरामीको भने तत्कालै उपचार गरिन्छ।अन्यको हकमा भने पालो कुर्नुपर्ने बाध्यता छ।
जटिल खालको एपेन्डिसाइटिस भएर, आन्द्रामा प्वाल परेर या बन्द भएर अनि छाती दुखेर आएका बिरामीलाई तत्काल उपचार गरिन्छ।त्यस्तै पेट दुखेर आएका बिरामीको जटिल समस्या छ भने पनि तुरून्तै भर्ना गराएर उपचार हुन्छ। सम्बन्धित चिकित्सकले बिरामीको आवश्यकताका आधारमा उपचारका लागि अस्पतालमै राख्न सक्छ।
हामीले हुम्ला, जुम्ला लगायतका दुर्गम जिल्लाबाट आएका बिरामीलाई केही दिन राखेर भए पनि उपचार गरेर पठाउने प्रयास गर्छौं। तर हामीसँग बिरामीको संख्याको आधारमा जनशक्ति र उपकरणको कमी छ। हामीले मिलेसम्म उपचारका लागि कमजोरी गरेका छैनौं।
अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई लगायतका केही परीक्षण बाहेक अन्य धेरै परीक्षण एकैदिनमा हुन्छ।
हाम्रो प्रविधिको क्षमताभन्दा बिरामी धेरै हुँदा पनि एकैदिनमा पालो नपाइने हो। जस्तो हामीसँग २ वटा एमआरआई मेसिन छ। नजिकै रहेको ट्रमा सेन्टरका बिरामी पनि यहीँ आउँछन्। २ वटा एमआरआई मेसिनको क्षमता भनेको २५ देखि ३० जना हुन्छ। तर एमआरआई गर्नुपर्नेको संख्या १ सय हुन्छ।
अर्को कुरा अपरेसनका लागि धेरै समय कुर्नुपर्छ भनेर धेरैतिरबाट गुनासो आउँछ। अपरेसनका लागि कुर्नु परेको यथार्थ हो। तर हाम्रा केही अफ्ठ्याराहरू छन्।
जस्तो अपरेसनका लागि सबैभन्दा पहिला सर्जन तयार हुनुपर्यो। त्यसपछि त्यही अनुसारको नर्सिङ स्टाफ, ल्याब लगयातका धेरै जोडिन्छन्। अनि सर्जन थप्ने या भएका सर्जनलाई दिनुपर्ने अतिरिक्त सुविधाको कुरा होला। तर पनि हामीले बिरामीले कुर्नुपर्ने समयलाई छोट्याउँदै गएका छौं। कुनै बेला न्युरो सर्जरीको लागि १ वर्ष कुर्नु पर्थ्यो तर अहिले २/४ महिनामा पालो आउँछ।
वीर अस्पताल ४ सय बेडको हुँदा जतिको संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी थिए अहिले ९ सय बेडको अस्पताल बन्दा समेत लगभग उत्तिकै छन्। १५/२० बेडको आइसियुलाई विस्तार गरेर अहिले सय पुर्याइएको छ।
वीर अस्पताल सिकाइको केन्द्र पनि हो। चिकित्सा शास्त्रका एमडी, एमएस लगायतका कार्यक्रम सञ्चालित छन्। त्यसैले अन्य खालका अस्पतालमा भन्दा हाम्रो अस्पतालका उपकरण चाँडै बिग्रिन्छन्। कतिपय सामग्री खरिद गर्नुपर्ने हुन्छ। तर खरिदको लागि हामीकहाँ झन्झटिलो प्रक्रिया छ। जसको घाटा बिरामीलाई हुन्छ।
मेरो आफ्नो २ वर्षे कार्यकालमा गर्न चाहेको भनेको अहिले भइरहेको उपचारलाई व्यवस्थित बनाउन प्रयास गर्नु हो। सकेसम्म कुर्न नपरोस् र कुर्दा पनि धेरै समय कुर्न नपरोस् भन्ने हो। त्यस्तै रिफरल सिस्टमलाई व्यवस्थित बनाउने प्रयास गर्छु। जस्तो पित्तथैलीमा पत्थरी भएको बिरामीलाई कुनै जिल्ला अस्पतालबाट रिफर गरेर पठाइएको छ भने त्यस्ता बिरामीको तुरून्तै अपरेसन हुने व्यवस्था हुनुपर्छ। वीरमा परीक्षण गरेको बिरामीको रेकर्डलाई डिजिटलाइज गरेर अन्य सरकारी अस्पतालमा समेत हेर्न मिल्ने गरी बनाउनु पर्छ भनेर छलफल गरिरहेको छु।
अर्को मत्वपूर्ण कुरा के छ भने गाउँबाट आउने बिरामीको कुरूवाको लागि कुरूवा घर बनाउन सकियो भने त्यसले विपन्न वर्गलाई ठूलो राहत मिल्छ।
हामीकहाँ अहिले सबै विधाका सबैखाले उपचार र अपरेसन हुन्छन्। भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र भएकाले वीर अस्पतालमा कलेजो प्रत्यारोपण हुँदैन। तर यो एउटा शैक्षिक केन्द्र अनि बिरामीको संख्यालाई हेर्दा कलेजो प्रत्यारोपण सुरू गर्नुपर्ने आवश्यकता भइसकेको छ।
म यो अस्पतालमा २५ वर्षदेखि कार्यरत छु। २४ वर्ष अघि इमर्जेन्सीमा मेडिकल अफिसर थिएँ।त्यो बेला एउटा बिरामी आन्द्राको जटिल समस्याले आइपुगेका थिए। उनी अस्पतालमा बेवारिसे अवस्थामै थिए। त्यस्तो बिरामीको कुनै खर्च नलिइकन हामीले सबै उपचार गरेर पठाएका थियौं। उनको सबै खर्च राज्यले बेहोरेको थियो।
अहिले पनि वीर अस्पतालमा सरकारका विभिन्न कार्यक्रम छन्। बीमा र सामाजिक सुरक्षाबारे थाहा नपाएकाहरूलाई पनि विभिन्न खालका कार्यक्रम हुन्छन्। आजको दिनमा जसलाई उपचार गर्नपर्ने हो त्यो बिरामी हाम्रो कम्पाउण्डमा छिरेपछि पैसाको अभावमा उपचार नहुने भन्ने हुँदैन। त्यसैले यसलाई गरिबको अस्पताल भनेर पर्यायबाचीको रूपमा पनि बुझिन्छ।
यो सुविधा हिजोका दिनमा पनि थिए मेरो कार्यकालमा पनि छ र भोलिका दिनमा पनि यसले निरन्तरता पाउँछ। अर्थात् साँच्चै गरिब र क्षमता नभएका बिरामीलाई वीर अस्पतालले निःशुल्क उपचार गर्छ र गरिरहन्छ।
(वरिष्ठ कलेजो रोग विशेषज्ञ एवम् वीर अस्पतालका निर्देशक डा.दिलीप शर्मासँग हामीले भिडिओ कुराकानी गरेका छौं।)