माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।
नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ।
यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन्।
२ देखि २.४ जिपिए ४ हजार १ सय २६ जना परीक्षार्थीले ल्याएका छन्। त्यसैगरी ८ जनाले १.६ देखि २ जिपिए ल्याएका छन्। १ सय २६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
एसइई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका उनले बताए। यो पोहोरभन्दा झन्डै १४ प्रतिशत बढी हो। पोहोर ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।
एसइई गत चैतमा भएको थियो।
परीक्षार्थीले बोर्डको वेबसाइट https://neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।