डोल्पामा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोका कारण ५३ घरमा क्षति पुगेको छ।
काइके गाउँपालिका–४ रिवा गाउँमा पाँच सय मिटर माथिबाट झरेको लेदोसहितको पहिरोले स्थानीयको घरमा क्षति भएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी रूकबहादुर खड्काले शुक्रबार बिहान साढे १ बजेपछि भारी वर्षा भएको र त्यसले माथिबाट लेदोसहितको पहिरो झर्दा स्थानीयका घरमा क्षति पुगेको सेतोपाटीलाई बताए।
डिएसपी खड्काका अनुसार बिहानीपख झरेको पहिरोले आठ घरमा पूर्ण रूपमा क्षति पुगेको छ। थप १२ घरमा मध्यम क्षति छ भने अन्य घरहरूमा सामान्य क्षति पुगेको छ।
पहिरोको खबर सुनेपछि बिहान ९ बजेतिर मात्रै प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीय जनप्रतिनिधि मिलेर क्षतिको प्रारम्भिक तथ्यांक संकलन गरिरहेको डिएसपी खड्काले बताए।
पूर्ण रूपमा क्षति पुगेका ८ घर परिवारलाई अन्यत्र ठाउँमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको तथा खाद्यान्न लगायत त्रिपालको पनि आवश्यकता पर्ने भएका कारण त्यसको व्यवस्थापनका लागि काइके गाउँपालिका अध्यक्षसहित सरोकारवालाहरू पनि घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरीले बताएको छ।
डिएसपी खड्काले प्रमुख जिल्ला अधिकारीसहित आफू पनि जानका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।
बिहानी पहिरो झरेको थाहा पाएपछि गाउँहरू भने भागेर ज्यान जोगाउन सफल भएका थिए। त्यसैले मानवीय तथा पशु पंक्षीको क्षति भने हालसम्म खुल्न नसकेको प्रहरीले बताएको छ।