सर्लाहीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
बुधबार राति ८ बजे सर्लाहीको लालबन्दी नगरपालिका-५ मेजरगंजको भित्री सडकमा लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा कबिलासी नगरपालिका- ८ अगर्वा बस्ने २० वर्षीय सचिन साह (गुप्ता) रहेको सर्लाही प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा राति ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
सर्लाही प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार टिपरले युवकलाई ठक्कर दिएपछि टिपर चालक फरार भएका थिए। त्यसपछि तीन/चार सयको संख्यामा उपस्थित मानिसहरूले टिपरमा आगजनी गरेका थिए।
परिस्थिती नियन्त्रणमा लिन ५२ जना प्रहरी खटाइएको थियो। आगजनीबाट टिपरको अगाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको डिएसपी श्रेष्ठले बताए।
टिपर चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।