जिल्लाका सामुदायिक विद्यालयमा पहिलोपटक व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु हुने भएको छ। रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमूना माध्यमिक विद्यालयले नयाँ विषयका रूपमा होटल म्यानेजमेन्टको पठनपाठन सञ्चालन गर्न लागेको हो।
कालीगण्डकीबेँसीका विद्यार्थीलाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषय सुरुवात गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए।
'नयाँ विषयका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छन्। प्रयोगशाला कक्ष तयार पार्न उपकरण व्यवस्थापन गरिरहेका छौँ । प्रयोगशाला व्यवस्थापनमा करिब ३० लाख रकम लाग्ने अनुमान छ, विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नेछौं,' उनले भने।
शैक्षिक क्षेत्रमा नयाँ इँट्टा थप्ने विद्यालयको योजना र यो क्षेत्रमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको माग बढिरहेकाले नयाँ विषय सञ्चालनको तयारीमा विद्यालय लागेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए।
'धेरै खर्चिलो नहुने भएकाले विद्यार्थीले आफ्नै गाउँठाउँमा नयाँ विषय पढ्न पाउनेछन्, उच्च शिक्षा सकेर विद्यार्थी बाहिर जाने भएकाले होटल म्यानेजमेन्ट विषय पढाइमा अन्यत्र लगानी गर्न नपर्ने योजनासहित स्थानीयस्तरमा कक्षा सञ्चालनको तयारी गरेका हौँ । यसले विद्यार्थी र अभिभावकलाई सजिलो हुने अपेक्षा गरेका छौं,' उनले भने।
यसवर्ष ३० देखि ४० जना विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने विद्यालयको लक्ष्य रहेको प्रअ लम्सालले जानकारी दिए। उनले आवश्यक परेमा विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरेर स्नातक तहसम्मको कक्षा सञ्चालन गर्न सकिने धारणा राखे।
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा र व्यवस्थापन सङ्कायका साथै तीन वर्षे कृषिबाली विज्ञानको पठनपाठन भइरहेको छ । विद्यालयमा हाल दुई हजार ७०० बढी विद्यार्थी अध्ययनरत छन् ।
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ। रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तटहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको हो।
लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा आगामी आर्थिक वर्षदेखि स्कुल सञ्चालन गर्ने योजनाअनुसार सबै तयारी थालिएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए।
'रामघाटधाम एउटा धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यहाँ ज्येष्ठ नागरिक पनि आउनुहुन्छ । नगरपालिकाले आवतजावतका लागि बस ल्याइसकेको छ, नयाँ आर्थिक वर्षदेखि स्कुल सञ्चालन हुनेछ । समय बिताउने माध्यम मात्र नभई धार्मिक क्रियाकलापमा पनि दिनभर सक्रिय रहँदा मन प्रसन्न हुनेछ,' उनले भने।
उक्त स्कुलमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ।
नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावत गर्न यातायात सेवा, स्कुलमा रहँदा खाने, बस्नेलगायत आवश्यक सेवासुविधा नगरपालिकाले व्यहोर्ने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए।
'बिहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घरघरमा पुनःपुर्याइनेछ, यसको सबै प्रबन्ध नगरले गर्नेछ। ज्येष्ठ नागरिकलाई खुशीसँग दिन बिताउन नगरले स्कुल सञ्चालन गर्ने भएको हो। स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार, सामग्री तयारी अवस्थामा रहेकाले यथाशीघ्र कक्षा सञ्चालन हुनेछ,' नगरप्रमुख थापाले भने।
ज्येष्ठ नागरिक स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने छन् भने नियमित स्वास्थ्य परीक्षण हुनेछ । हाललाई सातवटा कोठा कक्षा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने खालका रहेका उनको भनाइ छ।
नगर आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक स्कुललाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थसहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षणलगायत कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख थापाले जानकारी दिए।
रामघाटसम्म पुग्ने सडकमार्ग स्तरोन्नति, आवश्यक भौतिक संरचना निर्माण भएपछि पर्यटकीय पूर्वाधार विकासले यहाँ आउने आगन्तुकको सङ्ख्या बढ्दै गएको हो। यहाँ रामनवमी, कृष्णजन्माष्टमीलगायत विभिन्न पर्वमा धार्मिक मेला लाग्ने गर्दछ । धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुई जना पूजारी व्यवस्था गरिएको छ।